वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले जोर्डनको सामना गर्दै

फाल्गुन १७, २०८० | काठमाडौं

नेपालले साउदी अरेबियामा आयोजित वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज साविक विजेता जोर्डनको सामना गर्दैछ । 

साउदी अरेबियाको जेद्दास्थित स्टेडियममा हुने उपाधि भिडन्त नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि यात्रा तय गरेको हो । जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको नेपाल जोर्डनलाई हराउँदै डेब्यू सहभागीतामै उपाधि जित्ने लक्ष्य लिएको छ । 

नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी भने फाइनलमा उपस्थित हुने छैनन् । जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरेकी साम्बाले क्लव फुटवलका लागि फ्रान्स फर्कनु परेपछि फाइनल खेल गुमाएकी हुन् । फाइनल खेलमा मैदानबाहिरै बसेर भएपनि देशको समर्थन गर्ने भन्दै साम्बाले समाजिक संजालमार्फत टोलीलाई शुभकामना दिएकी छन् ।

 साम्बा नभए पनि नेपाली टिममा प्रीति राई, अनिता बस्नेत, अमिसा कार्की, गीता राना, रेखा पौडेल लगायत खेलाडीको साथ रहनेछ । यता, जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । साविक विजेता जोर्डन पनि आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा हुनेछ ।  


प्रतिक्रिया