बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमा धरान र युकेएफसी भिड्दै

फाल्गुन २६, २०८० | सुनसरी

अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४ औं संस्करण सुनसरीमा आज सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीको सामना गर्दैछ । 

धरान रंगशालामा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालका ७ र एक भारतीय सहित ८ टिमको सहभागिता रहेको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 

आगामी चैत ३ गतेसम्म चल्ने गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, न्युरोड टिम एनआरटी, चर्च ब्वाईज यनाइटेड, मोरङ फुटबल क्लब, झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको युकेएफसीको सहभागिता रहेको छ ।

२०५५ सालदेखि सुरु भएको प्रतियोगिताको यो संस्करणको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार र विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने छन् । 

सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउने अध्यक्ष तामाङले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कुल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया