इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज र त्रिभुवन आर्मी भिड्दै

चैत्र १७, २०८० | सुनसरी

इटहरी गोल्डकप फुटबलको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सुनसरीको इटहरी रंगशालामा हुने फाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

आर्मीले साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । 

फाइनल खेलअघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना आधा/आधार रहेको बताए । 

आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए । विपक्षी टिमको रणनीति बुझेर त्यही अनुसार आफूहरु मैदान उत्रिने र जित हात पार्ने केसीले बताए । 

चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक हुने बताए । दुबै टिममा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेकाले जित्ने रणनीतिका साथ मैदान उत्रिने उनले बताए । 

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया