प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग म्यान युनाइटेड पराजित
वैशाख २५, २०८१ | काठमाडौं
इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । सेल्हर्स्ट पार्कमा गएराति भएको खेलमा क्रिस्टल प्यालेसले म्यान युनाइटेडलाई ४–० ले पराजित गरेको हो ।
यो हारसँगै युनाइटेडको अर्को सिजन युरोपमा खेल्ने सम्भावना कमजोर बनेको छ । क्रिस्टल प्यालेसको जितमा माइकल ओलिसले दुई तथा जीन–फिलिपे माटेटा र टेरिक मिचेलले एक–एक गोल गरे ।
ओलिसले खेलको १२ र ६६ औं मिनेटमा व्यक्तिगत दुई गोल गरे । माटेटा खेलको ४० औं तथा मिचेलले ५८ औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई फराकिलो जित दिलाए ।
यो जितपछि क्रिस्टल प्यालेस ४३ अंक सहित तालिकाको १४ औं स्थानमा रह्यो । म्यान युनाइटेड भने ५४ अंकका साथ आठौं स्थानमा छ । युनाइटेडमाथि प्यालेसको यो पहिलो लिग डबल हो ।