१० औं महिला विश्वकप फुटबल ब्राजिलमा हुने

जेष्ठ ४, २०८१ | काठमाडौं

सन् २०२७ मा हुने १० औं संस्करणको महिला विश्वकप फुटबल आयोजनाको अधिकार ब्राजिलले पाएको छ ।

युरोपका बेल्जियम, नेदरल्यान्ड्स र जर्मनीको संयुक्त दाबीलाई पछि पार्दै ब्राजिलले आयोजनाको अधिकार पाएको हो ।

गएराति भएको फिफाको साधारणसभामा ब्राजिलले ११९ देशको समर्थन पाएको थियो । यससँगै अब ब्राजिल महिला विश्वकप गर्ने पहिलो दक्षिण अमेरिकी देश बन्ने भएको छ ।

ब्राजिली फुटबल संघका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले यो अधिकारसंगै ब्राजिली महिला फुटबलरका लागि उत्सवको दिन भएको प्रतिक्रिया दिएका छन् ।

यसअघि अमेरिका र मेक्सिकोले पनि संयुक्त आयोजना गर्ने प्रस्ताव पेस गरेका थिए । तर उनीहरु दुई महिनाअघि मात्र योजनाबाट पछि हटेका थिए ।

युरोपका १३ रंगशाला तुलनात्मक रुपमा साना रहेको फिफाको ठहर थियो ।


प्रतिक्रिया