ललितपुर मेयर्स महिला टी ट्वान्टी कपः उपाधिका लागि एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्ने

जेष्ठ ४, २०८१ | काठमाडौं

ललितपुर मेयर्स महिला टी ट्वान्टी कपको उपाधिका लागि विभागीय शसस्त्र प्रहरीको नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल प्रवेशका लागि आज भएको खेलमा बागमती प्रदेशमाथि १ सय ९ रनको फरकिलो अन्तरको जित निकाल्दै सुदूरपश्चिम प्रदेश उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश १६ दशमलव १ ओभरमा अल आउट हुँदै ४८ रनमा समेटिएको थियो ।

बागमती प्रदेशकालागि करिश्मा गुरुङले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बागमतीलाई सस्तैमा अल आउट गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका लागि ऋतु कनौजियाले ३, कविता जोशी र लक्ष्मी साउदले समान २÷२ विकेट लिए भने बिन्दु रावल र करिश्मा थापाको नाममा १÷१ विकेट रह्यो ।

त्यसअघि सुरुवाती ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । उसका लागि सम्झना खड्काले नट आउट रहँदै सर्वाधिक ७४, रुबी पोदार र विन्दु रावलले समान २८÷२८ रन बनाएका थिए । त्यस्तै कविता जोशीले नट आउट रहँदै २० बनाउन सकिन् । सर्वाधिक रन बनाएकी सम्झनाले १० चौकाको सहयोगमा ७४ रन बनाएकी हुन् ।

तालिकाको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने नियमअनुसार भएको खेलमा सुदूरपश्चिम प्रदेश ४ खेलबाट ६ अङ्कसहित उपाधिका लागि छानिएको हो ।

आजको खेलमा पराजित भएको अवस्थामा पनि नेट रनरेटमा अघि रहेको सुदुरपश्चिम प्रदेशले उपाधिका लागि खेल्ने निश्चित थियो । यसअिघ एपीएफ क्लब भने जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।

उपाधिका लागि भोलि विहान १० बजेपछि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ क्यानले जानाएको छ ।

ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ क्यानले गत बैशाख २९ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।  


प्रतिक्रिया