कुशल मल्लले यूएईको आईएल टी–२० खेल्ने

पुस १०, २०८१ | काठमाडौं

नेपालका अलराउन्डर २० वर्षे क्रिकेटर कुशल मल्लले यूएईको आईएल टी–२० खेल्ने भएका छन् । आईएल टी–२० को फ्रेन्चाइज टोली डेजर्ट भाइपर्सले कुशललाई अनुबन्ध गरेको जनाएको हो । 

नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिड घाइते भएपछि भाइपर्सले उनको स्थानमा कुशललाई लिएको हो । आईएल टी–२० को तेस्रो सिजन जनवरी ११ देखि सुरु हुनेछ । 

भाइपर्सले जनवरी १२ मा अबुधाबी नाइट राइडर्सविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । प्रतियोगिता सुरु हुनु एक साता अगाडि कुशल दुबईमा रहेको आफ्नो टोलीमा समावेश हुने तालिका छ । 

आईएल टी २० मा यूएईका २ तथा विदेशी ९ जनासम्मले प्लेयिङमा रहेर खेल्न पाउने प्रावधान छ । कुशलले गत वर्ष चीनमा भएको दक्षिण एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा अविजित १ सय ३७ रन बनाएका थिए । त्यस क्रममा उनले ३४ बलमै शतक पूरा गरेका थिए । 

तत्कालीन अवस्थामा त्यो टी–२० अन्तर्राष्ट्रियको सबैभन्दा थोरै बलमा बनेको शतक थियो । देब्रेहाते कुशलले नेपालका तर्फबाट ४७ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १ सय ४७ माथिको स्ट्राइक रेटमा ९ सय १७ रन बनाउनुका साथै १९ विकेट लिएका छन् । 


प्रतिक्रिया