एमाले पूर्व उपाध्यक्ष भीम रावल पार्टीबाट निष्कासित
पुस १०, २०८१ | काठमाडौं
सत्तारुढ नेकपा एमालेले पूर्व उपाध्यक्ष समेत रहेका नेता भीम रावललाई पार्टीबाट निष्काशन गरेको छ । एमालेको केन्द्रिय सचिवालय बैठकले नेता रावललाई पार्टीको संगठित सदस्यबाटै हटाउने निर्णय गरेको हो । गत महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेसँगै अध्यक्ष केपी ओलीसँग विवाद उत्पन्न भएपछि पार्टीका गलत निर्णयमाथि सार्वजनिक रुपमा प्रश्न उठाउँदै आएका रावललाई अन्ततः एमालेले अनुशासनको कारवाही गर्दै पार्टीबाट हटाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सचिवालय बैठकमा केही नेताले रावललाई तत्काल पार्टीबाट हटाउन नहुने धारणा राखेपनि अध्यक्ष ओलीले अस्वीकार गरेको स्रोतको भनाइ छ । यसैबीच, एमालेले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको छ । व्यवसायी मीनवहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउन लागेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएका पाण्डे र तिम्सिनालाई यसअघि स्पष्टीकरण सोधिएकोमा अहिले आएर जिम्मेवारीबाट केही समयका लागि मुक्त गरिएको हो ।
रावललाई पार्टीबाट हटाउने र दुई नेतालाई जिम्मेवारी मुक्त गर्ने एमालेको निर्णयको सार्वजनिक आलोचना शुरु भएको छ । एमाले सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ । बैठकका लागि राजनीतिक प्रतिवेदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्डा तयार भएको एमालेले जनाएको छ ।