बागमती गोल्डकपको उपाधिका लागि मच्छिन्द्रले चर्च ब्वाइजको सामना गर्दै

फाल्गुन १२, २०८१ | मकवानपुर

मकवानपुरमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबले ‘ए डिभिजन च्याम्पियन’ चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । 

बागमती गाउँपालिका–४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको थियो । 

दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता मच्छिन्द्रले उपाधिका यात्रा तय गरेको थियो । फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ ।


प्रतिक्रिया