‘ए डिभिजन लिग’: फुटबलरको आन्दोलनमा खेलाडी संघको ऐक्यवद्धता
कार्तिक २१, २०८२ | काठमाडौं
‘ए डिभिजन लिग’ आयोजना नभएको भन्दै फुटवल खेलाडीले सुरु गरेको आन्दोलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ऐक्यवद्धता जनाएको छ ।
खेलाडी संघले विज्ञप्ति जारी गर्दै खेलाडीको रोजीरोटीसँग जोडिएको ‘ए डिभिजन लिग’ झन्डै अढाई वर्षदेखि हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताइको छ ।
फुटवल खेल्न पाउनु खेलाडीको अधिकार भएको उल्लेख गर्दै खेलाडी संघले खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व भएकाले गम्भीर हुन एन्फालाई आग्रह गरेको छ । खेल आयोजनाका लागि आफ्नै संघ विरुद्ध उत्रनुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको उल्लेख गर्दै खेलाडी संघले समस्या समाधानका गर्दै फुटबल हुने वातावरण तयार पार्न माग गरेको छ ।
खेलाडीहरुले हिजो एन्फा कार्यालयअगाडी प्रदर्शन गरेका थिए । यसैबीच, अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्व अध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडी कमल थापालेसहिद स्मारक ‘ए’ डिभिजन लिग तुरुन्तै सञ्चालन गर्न एन्फा र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई ध्यानाकर्षण गराउनुभएको छ ।
सामाजिक सञ्जालमा धारणा राख्दै थापाले राखेप र एन्फालाई अविलम्ब लिग सञ्चालन गर्ने वातावरणका लागि आग्रह गर्नुभएको हो । २०७९ सालपछि शीर्ष डिभिजन लिग गर्न नसकेको भन्दै आलोचना भइरहँदा एन्फाले यो वर्ष पनि ‘ए डिभिजन लिग’ नगर्ने र ‘राष्ट्रिय लिग’ मात्र गर्ने निर्णय गरेपछि खेलाडीहरु विरोधमा उत्रिएका हुन् ।










