लोकसभाका लागि भारतमा दोस्रो चरणको मतदान

वैशाख १४, २०८१ | काठमाडौं

लोकसभाको निर्वाचन अन्तर्गत आज भारतमा दोस्रो चरणको मतदान सुरु भएको छ । कर्नाटक १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

केरलामा वायनाड जिल्लामा प्रमुख विपक्षी नेता राहुल गान्धी र भारतीय कम्युनिष्ट पार्टीका वामपन्थी उम्मेद्वार एनी राजाबीच प्रतिस्पर्धा भएको हो ।

यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ–आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच–पाँच, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन सिटका लागि समेत प्रतिस्पर्धा भएको छ ।

यस्तै मणिपुर, त्रिपुरा र जम्मु–कश्मीरका एक–एक सिटका लागि पनि आज नै मतदान भएको छ। नेपाली भाषीहरूको बाहुल्य रहेको दार्जिलिङमा पनि आज नै मतदान भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

यता प्रधानमन्त्री नरेन्द्र मोदीले यस पटक आफ्नो गठबन्धनले ४ सय सीट जित्ने दावी गर्नुभएको छ । अप्रिल १९ बाट सुरु भएको आम निर्वाचनको प्रारम्भिक चरणको मतदानपछि दोस्रो चरणको मतदान हुने भएको हो । विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारतमा लोकसभाको ५४३ सिटका लागि प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणमा १० करोडभन्दा बढी नागरिकले मतदान गरेका थिए । हालसम्मको मतगणनाको आधारमा पहिलो चरणमा करिब ६४ प्रतिशतले मतदान गरेको अनुमान गरिएको छ । सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा घोषणा हुनेछ । 


प्रतिक्रिया