युरोपेली मूलुकहरुमा कोरोना संक्रमणको अवस्था गम्भीर बन्दै : डब्लुएचओ

आश्विन २, २०७७

विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपेली मूलुकहरुमा कोरोना भाइरस संक्रमणको अवस्था गम्भीर रहेको बताएको छ । युरोपका लागि डब्लुएचओका क्षेत्रिय निर्देशक हंस क्लुजले अघिल्लो साता युरोपेली मूलुकमा मात्र ३ लाख बढी संक्रमित पुष्टि भएको भन्दै अवस्था गम्भिर बनेको उल्लेख गर्नु भएको छ । 

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाइएको रणनीति प्रभावकारी नभएको भन्दै बेलायत, फ्रान्स, स्पेन, नेदरल्याण्ड्स लगायतका मूलुकले नयाँ रणनीतिका साथ अघि बढ्ने तयारी समेत गरेका छन् । 

बेलायतका स्वासथ्य सचिव म्याट ह्यान्ककले गम्भिर अवस्थाको सामना गर्नु परेको भन्दै अर्को लकडाउन पनि हुन सक्ने उल्लेख गर्नु भएको छ । स्पेनको राजधानी मड्रिडमा नयाँ केस फेला पर्न थालेपछि स्वास्थ्य अधिकारीले क्षेत्रिय स्वास्थ्य प्रणाली कोभिड १९ संक्रमितको उपचारको दबाबमा रहेको बताएका छन् ।

फ्रान्समा पनि संक्रमण दर बढेकाले मुख्य शहरहरुमा नयाँ उपाय अवलम्बन गर्ने तयारी गरिएको छ ।

विश्वमा ३ करोड बढी कोरोना संक्रमित पुष्टि भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर ३ करोड २ लाख ५ हजार ९ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । ९ लाख ४६ हजार ६ सय ८५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । अमेरिकामा सबै भन्दा बढी ६६ लाख ७६ हजार ४ सय १० जनामा संक्रमण भेटिएको छ भने एक लाख ९७ हजार ६ सय ५५ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया