आईपीएल क्रिकेटमा हैदरावादको पहिलो जित

आश्विन १४, २०७७ | काठमाडौं

सनराईजर्स हैदरावादले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पहिलो जित हात पारेको छ । गएराती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै हैदरावादले तेस्रो खेलमा सिजनको पहिलो अंक हात पारेको हो ।

सुरुवाती दुबै खेलमा जित निकालेको दिल्लीको भने यो पहिलो हार हो । हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । शिखर धवनले सर्वाधिक ३४, रिषव पन्तले २८ र सिमरोन हेटमेरले २१ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । 

कप्तान श्रेयस ऐरले १७ र कासीगो रावाडाले अबिजित १५ रन बनाए । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । हैदरावादका रासिद खानले आफ्नो स्पेलमा १४ रन खर्चिएर दिल्लीका महत्वपुर्ण ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र टि नटराजनले समान एक विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको हैदरावादले ४ विकेट गुमाएर १ सय ६२ रनको मध्यम योगफल तयार पारेको थियो ।

उसको जितमा जोनी ब्रेष्टोले ५३ रनको योगदान गरे । कप्तान डेभिड वार्नरले ४५ र केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समाद १२ रनमा अबिजित रहे ।

दिल्लीका अमित मिश्रा र कासीगो रावाडाले समान २ विकेट लिए । आईपीएलको १२ औं खेलमा आज राजस्थान रोयल्स र कोलकत्ता नाईट राइडर्स प्रतिस्पर्धा गर्नेछन् ।  


प्रतिक्रिया