तत्काल मुलुकव्यापी रुपमा लकडाउन हुँदैन : अर्थमन्त्री खतिवडा

श्रावण २२, २०७७ | काठमाडौं

सरकारले कोरोना महामारीको अहिलेको अवस्थालाई मूल्याङ्कन गरी देशव्यापी लकडाउन नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले अहिलेको अवस्थालाई हेरेर तत्काल सो कदम चाल्ने स्थितिमा सरकार नपुगेको बताउनुभयो । 

जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने उहाँ बताउनुभयो । संक्रमणको जोखिम कम भएको स्थानमा खुकुलो गर्ने र संक्रमणको उच्च जोखिम भएको स्थानमा तत्काल सेवाहरु रोक्नु पर्ने उहाँले बताउनुभयो । 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले परिस्थिति अनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्ने बताउनुभयो । 

मन्त्री खतिवडाले आगामी भदौं एक गतेबाट खुला गर्ने भनिएका सम्पूर्ण क्षेत्रबारे सरकारले पुनर्बिचार गर्ने पनि उल्लेख गर्नुभयो । काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ ।

यसैबीच, मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने उहाँको भनाई छ । 


प्रतिक्रिया