चिया श्रमिक पुन: आन्दोलनको तयारीमा

श्रावण २४, २०७७ | झापा

सहमति अनुसार ज्याला नपाएको भन्दै झापाका चिया श्रमिकले पुन: संघर्षमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनअनुसार २०७५ साउनदेखि ०७६ बैशाख ३० सम्मको वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला नपाएको श्रमिकको भनाइ छ । सो रकमका लागि बगान मालिकसँग पटकपटक आग्रह गर्दा समेत भुक्तानी नपाएको उनीहरुको गुनासो छ ।

 बिर्तामोडमा आज नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएकोले पुन: आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । कोभिड–१९ को संक्रमणका कारण सबै क्षेत्र सिथिल भएपनि चिया क्षेत्र भने इतिहासकै स्वर्णिम अवस्थामा पुगेको उनीहरुको दाबी छ ।

 साउनमा हरियो चियापत्ती अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । तयारी चिया भारु २ सय रुपैयाँ केजीसम्म बिक्री भइरहेको अखिल नेपाल ट्रेड युनियन प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले जानकारी दिनुभयो । गत वर्ष यही सिजनमा हरियो चियापत्ती सरदर प्रतिकेजी २० रुपैयाँ र तयारी चिया अधिकतम मूल्य भारु ८५ रुपैयाँ थियो । 

चियाले अहिलेसम्मकै उच्च दरमा बजार मूल्य पाएको अवस्थामा पनि श्रमिकले ऐनअनुसार ज्याला नपाएको उहाँले बताउनुभयो । चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रले श्रम ऐन अझै पनि पूर्णरुपमा कार्यान्वयन नगरेको बताउनुभयो । उनीहरुले श्रम ऐन र सहमति अनुसार पारिश्रमिक लगायत सेवा सुविधा तत्काल उपलब्ध नगराए पुन: आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् । 


प्रतिक्रिया