क्लब विश्वकपको फाइनलमा चेल्सी र पीएसजी भिड्दै

असार २९, २०८२ | काठमाडौं
फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि चेल्सीले पेरिस सेन्ट जर्मेन पीएसजीको सामना गर्दैछ । चेल्सी र पीएसजी बीचको उपाधि भिडन्त अमेरिकाको मेट लाइफ स्टेडियममा नेपाली समय अनुसार मध्यराति पौने एक बजे सुरु हुनेछ ।
चेल्सी दोस्रो पटक क्लब विश्वकप फुटबलको उपाधि जित्ने योजनामा मैदान उत्रनेछ । यता पीएसजी भने चेल्सीको चुनौती पन्छ्याउँदै पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ ।
क्लब इतिहासमा चेल्सीले सन् २०२१ मा पहिलो पटक उपाधि उचालेको थियो । सन् २०१२ मा भने चेल्सी उपविजेतामा सीमित बनेको थियो । चेल्सीले पहिलो सेमिफाइनलमा ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकप फुटबलको फाइनलमा स्थान पक्का गरेको हो ।
पीएसजीले दोस्रो सेमिफाइनलमा रियल म्याड्रिडलाई ४–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको पीएसजी उत्कृष्ट फर्ममा छ ।
चेल्सीले यो सिजन युरोपा कन्फ्रेन्स लिग जितेको छ भने इंग्लिस प्रिमियर लिगमा सबैभन्दा गाह्रो मानिने शीर्ष चारको स्थान पनि हात पारेको छ ।