भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती मनाइँदै

असार २९, २०८२ | काठमाडौं

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्नु भएको थियो । 

उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीहरुको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गरेको मानिन्छ । 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनु भएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको भन्ने गरिएको छ । 

‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचना लगायत कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । 

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।


प्रतिक्रिया