चुनावी फण्डा नगर्न पौडेल पक्षलाई संस्थापनको आग्रह

आश्विन १३, २०७७ | काठमाडौं

प्रमुख प्रतिपक्षी काँग्रेसमा पार्टी सभापति शेरवहादुर देउवा पक्षले १४ औं महाधिवेशन लक्षित चुनावी फण्डा नगर्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई आग्रह गरेको छ । पार्टीमा विभिन्न विभाग गठन, क्रियाशील सदस्यता वितरण, भ्रातृ एवं शुभेच्छुक तथा भ्रातृ संस्थाहरुको अधिवेशनलाई लिएर वरिष्ठ नेता पौडेल पक्षले चुनावी फण्डा मात्रै गरेको संस्थापनको आरोप छ ।

क्रियाशील सदस्यता वितरण स्थानीय तहले गरेको तथा विभागहरु पार्टी विधान अनुसार नै गठन गरिएको भन्दै सहमहामन्त्री एवं संस्थापन पक्षीय नेता डा. प्रकास शरण महतले अनावश्यक बखेडा झिकेर पार्टीलाई नै कमजोर बनाउने खेलमा नलाग्न आग्रह गर्नुभयो । पार्टीमा सधै विवाद झिकिरहनुभन्दा चुनावी प्रतिस्पर्धामा जितेर पार्टी चलाउन उहाँले वरिष्ठ नेता पौडेललाई चुनौती समेत दिनुभयो ।

उहाँले भन्नुभयो, पार्टी सभापतिले गरेका निर्णयहरु सवै विधानसम्मत छन् । तत्कालिन सभापति सुशील कोईरालाको पालामा भएका यस्तै निर्णयका बारेमा चाही मौन बस्ने अहिले निरन्तर विरोध मात्रै गर्ने शैली खराव छ ।

संस्थापन इतर पक्षका नेता डा. चन्द भण्डारीले भने पार्टी सभापतिले नै चुनावलाई आफ्नो पक्षमा पार्न विधान विपरितका काम गरेको आरोप लगाउनुभयो । पार्टीका शुभेच्छुक तथा भ्रातृसंस्थाहरुमा आफुखुसी नियुक्ती, समायोजन प्रक्रियामा हस्तक्षेप, आफु निकटकालाई क्रियाशील सदस्यता वितरण गरेर महाधिवेशन आफ्नो पक्षमा पार्ने खेलमा सभापति नै लागेको उहाँले आरोप लगाउनुभयो ।

काँग्रेसमा संस्थापन र इतरपक्षबीच एक पछि अर्को विवाद बढ्दै गएपछि आगामी फागुनमा गर्ने भनिएको महाधिवेशन पनि प्रभावित हुने संकेत देखिएको छ । यद्यपी पार्टीका सवै विवादित विषयमा आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने नेताहरुको भनाई छ । 


प्रतिक्रिया