बलात्कार आरोपितको उमेरमा विवाद

आश्विन १३, २०७७ | बझाङ

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका बझाङको मष्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराको उमेरमा विवाद आएको छ । प्रहरीले उनको उमेर २० वर्ष रहेको दाबी गरिरहंदा उनका आमाबुवाले भने १४ वर्षको भएको बताएका छन् । 

आज आयोजित पत्रकार सम्मेलनमा पनि बझाङ प्रहरी प्रमुख डीएसपी रुपक खड्काले सोही दावी दोहोऱ्याउनुभयो । यद्यपी राजेन्द्रका बाबु विरवहादुरले आफ्नो छोरो २०६३ सालमा जन्मिएको दावी गर्नुभएको छ । 

प्रहरीले मेडिकल प्रक्रिया बाट राजेन्द्रको उमेर पत्ता लगाउन जिल्ला अस्पताल बझाङमा उमेर अनुमान परिक्षण पनि गराएको थियो । जिल्ला अस्पतालमा गरिएको परिक्षणमा पनि उनको उमेर १४ देखी १६ को विचमा रहेको पक्ता लागेको अस्पताल स्रोतले बतायो । 

बझाङ प्रहरी प्रमुख खड्काले भने अस्पतालको भन्दा पनि विद्यालयमा पेश गरिएको जन्मदर्ताको प्रमाण आधिकारीक हुने बताउँदै जन्मदर्ताको प्रतिलिपि मागेको जानकारी दिनुभयो । यसैबीच घटनाको सातौं दिन सम्म पनि बलात्कार पछि हत्या भएकी सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । 

शव व्यवस्थापनका लागि भनेर जिल्ला प्रसाशन कार्यालयमा बोलाईएको सर्वपक्षिय बैठकले समेत सो विषयमा कुनै निर्णय गर्न सकेन । पीडित परिवारले पत्रकार सम्मेलन गरेर आरोपित सार्वजनिक गरेपछि मात्रै शव उठाउने माग गरेपछि दवावमा परेको प्रहरीले आज साँझ पत्रकार सम्मेलन गरी राजेन्द्रलाई सार्वजनिक गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोको टोलीले गरेको घटनास्थल र अन्य अनुसन्धानबाट पनि राजेन्द्रले नै सम्झनाको बलात्कार पछि हत्या गरेको निष्र्कष निकालेको डीएसपी रुपक खड्काले बताउनुभयो । सीआइबीका डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र केही दिन जिल्ला मै बस्ने खड्काको भनाई छ ।  


प्रतिक्रिया