संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसको माग

आश्विन १४, २०७७ | काठमाडौं

नेपाली कांग्रेसको संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलले दर्ता गराएको ध्यानाकषर्ण पत्रको जवाफ आगामी १९ गतेको केन्द्रीय समिति बैठकमा दिने भएको छ । 

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकमा सबै विषयको जवाफ आगामी केन्द्रीय समिति बैठकमा दिने निर्णय भएको सह–महामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । 

बैठकमा महामन्त्री सशांक कोइराला भने उपस्थित हुनु भएन । त्यस्तै बैठकले कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार पूर्णत: असफल भइसेको र भ्रष्टाचार नियन्त्रण भन्दा पनि बढावामा सरकार लागेको निष्कर्ष निकालेको छ । त्यसबारे सडक र सदन दुबै ठाउँबाट खबरदारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जनता कोरोना, भ्रष्टाचार, आर्थिक अनियमितता र महँगीले आक्रान्त भइरहेका बेला जनप्रतिनिधिहरुको थलो प्रतिनिधिसभामा त्यसबारे छलफल समेत गर्न आवश्यक नठान्नु आश्चर्य लाग्दो भएको कांग्रेसको आरोप छ । त्यसैले यथाशीघ्र संसद विशेष अधिवेशन बोलाउन पजि प्रमुख प्रतिपक्षी कांग्रेसले माग गरेको छ ।

आगामी केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, भ्रातृ संगठनहरुको पूर्णता लगायत समग्र विषयमा छलफल गर्नुका सथै वरिष्ठ नेता पौडेल सहितका नेताहरुले राखेको प्रश्नको जवाफ दिइने सहमहामन्त्री महतले बताउनुभयो । त्यसका लागि नेता पौडेलले दर्ता गराउनु भएको विरोध पत्रको समग्र अध्ययन गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया