वातावरण दिवसमा “एक बालबालिका, एक बिरुवा“ नामक राष्ट्रिय अभियान
जेष्ठ २१, २०८३ | काठमाडौं
विश्व वातावरण दिवसका अवसरमा अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेसनल नेपालले भोलि देशभर “एक बालबालिका, एक बिरुवा” नामक राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत देशभरका झन्डै ८० हजार बालबालिकालाई परिचालन गरिने सो संस्थाले जनाएको छ । संस्थाद्धारा जारी विज्ञप्तिमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिको चुनौतीका विरुद्ध आफ्नो भविष्य सुरक्षित गर्न बालबालिकाले व्यक्तिगत र सामूहिक पहलस्वरूप आ–आफ्नो घर र समुदायमा वृक्षारोपण गर्नेछन् ।
वर्ल्ड भिजनले बालबालिकालाई जलवायु परिवर्तनले ल्याएका समस्या समाधानमा सक्रिय सहभागी गराउन सो पहल शुरु गरेको हो । अभियान अन्तर्गत बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहहरूसँगको समन्वयमा हिमाल, पहाड र तराईका क्षेत्रका विभिन्न जिल्लामा वृक्षारोपण गर्नेछन् ।
संस्थाका अनुसार स्थानीय पारिस्थितिकीय प्रणाली सुहाउँदो बिरुवाहरू छनोट गर्न स्थानीय सरकार र जिल्ला वन कार्यालयसँग समन्वय गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्राविधिक कार्यक्रम (उत्थानशीलता तथा जीविकोपार्जन) सह–निर्देशक प्रकाश तिवारीले बालबालिकालाई बाल्यकालदेखि नै प्रकृतिप्रति माया र दायित्वबोध गराउँदै उनीहरूलाई वातावरणीय संरक्षक बनाउने लक्ष्यमा यो अभियान केन्द्रित रहेको बताए ।
वर्ल्ड भिजनका अनुसार अभियानमा १ सय भन्दा बढी विद्यालय र सामुदायिक समूहहरूलाई अभियानमा सहभागी गराउँदै बालबालिकाको नेतृत्वमा वातावरणीय संरक्षण र दीर्घकालीन अपनत्व प्रवद्र्धन गर्ने लक्ष्य समेत राखिएको छ ।







