बीपी राजमार्गको पुर्ननिर्माणप्रति चासोः विपद्पछिको असर शिक्षा बन्ने विश्लेषण
कार्तिक ३, २०८१ | काठमाडौं
असोज दोस्रो साताको अविरल वर्षापछि पु¥याएको क्षतिका कारण बीपी राजमार्गको सञ्चालनलाई लिएर निकै चासो प्रकट भएको छ । तराईका जिल्ला र पूर्वी नेपाललाई छोटो दूरीमा राजधानी काठमाडौलाई जोड्ने उद्देश्यले जापान सरकारको सहयोगमा निर्माण गरिएको यो राजमार्गको पुर्ननिर्माणप्रति धेरैको ध्यान खिचेको छ । सरकारले पुर्ननिर्माणका लागि केही पहल थालेपनि कहिले र कसरी पुर्ननिर्माणले सार्थकता पाउँछ भन्ने चाँहि निश्चित छैन । त्यस्तै, महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको बीपी राजमार्गमा केही दिनको बाढी पहिरोले पारेको क्षति आगामी दिनका लागि पनि पाठ बन्न सक्ने देखिएको छ ।
काभ्रे, रामेछाप र सिन्धुली जिल्लाको भित्री भागमा यातायातको पहुँच पुर्याई आर्थिक तथा सामाजिक गतिशीलता ल्याउने एवंम संघीय राजधानी काठमाडौँबाट पूर्व तथा मध्य तराईबीचको यात्रा समय घटाउन वैकल्पिक राजमार्गको रुपमा बीपी राजमार्ग बनेको थियो । यसको इतिहास हेर्ने हो भने विक्रम संवत् २०१५ सालमा तत्कालीन प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको पालामा यो राजमार्गको परिकल्पना गरिएको थियो । २०१७ सालको राजनीतिक परिवर्तनपछि बीपी राजमार्ग निर्माण ओझेलमा प¥यो ।
०४६ सालको राजनीतिक परिवर्तनपछिको सरकारको पहलमा चारखण्डमा विभाजन गरी २०५२ सालदेखि यसको निर्माण सुरु गरिएको हो । नेपालमै पहिलोपटक नयाँ प्रविधिका रूपमा सटक्रिट र जियोटेक प्रविधि प्रयोग गरी ठाउँ–ठाउँमा सडक निर्माण भएको छ । पहिरोलाई नियन्त्रण गर्न सटक्रिट–सिमेन्ट छ्याप्ने कार्य र पहरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक सो प्रविधि राजमार्गमा प्रयोग गरिएको छ । जसमध्ये पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किमि, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६ दशमलव ५ किलोमिटर, तेस्रो खण्ड खुर्कोट—नेपालथोक ३६ दशमलव ५ किलोमिटर तथा चौथो खण्ड नेपालथोक–धुलिखेल ५० किमि गरी १ सय ६० किलोमिटरको राजमार्ग जापानी कम्पनीले २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरी २०७१ सालमा सरकारलाई हस्तान्तरण गरेको थियो । निर्माण सम्पन्न भएको केही समय बित्न नपाउँदै २०७२ सालको भुकम्पले राजमार्गमा क्षति पुर्याएको थियो । त्यतिबेला जापान सरकारले नै राजमार्गको पुर्ननिर्माणका लागि आवश्यक रकम र प्राविधिक सहयोग गरेको थियो ।
भूकम्पले राजमार्गको विभिन्न पाँच ठाउँको सडकमा क्षति पुगेको थियो । १८ महिना लगाएर पुनर्निर्माण गरी जापानले पुन नेपाललाई सो राजमार्ग हस्तान्तरण गरेको थियो । त्यसपछि पूर्वी नेपाल र मध्यतराईलाई जोड्न व्यस्त रहँदै आएको यो राजमार्गलाई असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले क्षतविक्षत बनाएको हो । बीपी राजमार्गअन्तर्गत काभ्रेको मम्ती खोला, कालढुंगा, बोक्सीकुना, नार्केपुल आसपास पिनथली बेँसी, डालाबेँसी, भ्याकुरे खोला, चार सय बेँसी, मङ्गलटारलगायत स्थानमा सडक बगेको छ । यी खण्डमा कालोपत्रे सडकको नामोनिसान सम्म छैन । यी खण्डमा अहिले अस्थायी डाइभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
कतिपय स्थानमा भने खोलाबाटै सवारी साधन चलाउनुपर्ने बाध्यता छ । र, बीपी राजमार्ग पुर्ववत् अवस्थामा कहिलेबाट सञ्चालनमा आउँछ भन्ने चासो प्रकट भएका छन् । राजमार्गको पुर्ननिर्माणलाई कति समय लाग्छ भन्ने प्रश्नमा सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले भन–‘पुरानो अवस्थामा र्फकाउन गहन अनुसन्धान आवश्यक छ, जुन हामीले सुरुवात गरिसकेको छैनौँ । राजमार्गलाई पुर्नस्थापाना गर्न ७ अर्ब रुपैयाँको खर्च लाग्ने प्रारम्भिक अनुमान छ । राजमार्गमा सडक, पर्खाल लगायतको क्षतिका कारण एक वर्षमा सम्पन्न हुने अवस्था नभएकाले छिटोमा दुई वर्ष लाग्छ ।’
दुई दिनको भारी वर्षापछिको बाढीले बीपी राजमार्गमा पारेको क्षतिका कारणबारे अहिले विभिन्न कोणबाट व्याख्या गरिँदैछ । विज्ञहरुका अनुसार, राजमार्गसँग जोडिएका नदी र खोलाको अव्यवस्थित दोहन लगायत कारण बाढी पहिरोले बढि क्षति पुगेको आँकलन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालकाय पूर्व सचिव तुल्सी सिटौला भन्छन्–‘विपद्को मात्रा बढ्नुमा मुख्यतया खानी हो । गिट्टी बालुवाको लागि चाहिने ढुङ्गा निकालेपछि बाँकी रहेको लेदो, साना पदार्थहरु खोलाका आसपास क्षेत्रमा छाडिँदा यसले खोलालाई ठूलो स्वरुप बनायो । भविष्यमा राजमार्ग नजिकको क्षेत्रमा हुने उत्खन्नलाई सरकारले व्यवस्थापन गर्नुपर्छ ।’
बाढीका कारण बीपी राजमार्ग अन्तगर्त पर्ने चौकी डाँडादेखि नेपालथोकसम्म १९ ठाउँमा ११ किलोमिटर सडकमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सो राजमार्ग हुँदै तराईका जिल्ला र पूर्वी नेपालका यात्रीहरुलाई लक्षित गर्दै सहज बनाउने काम भईरहको छ भने केहीदिन आएको बाढीले यस्ता विपद्लाई सामाना गर्न सक्ने गरी जलविज्ञान तथा भू—प्राविधिक अध्ययन छिटो सम्पन्न गर्ने तयारी रहेको मन्त्रालयको दावी छ ।
यसैबीच, राजमार्ग पुर्ननिर्माणकालागि पहल स्वरुप सरकारले जापान सरकारसँग सम्बाद गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित जापानी राजदूतबीच बुधवार (असोज ३० गते) भएको भेटमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भने–‘राजमार्गको अनुसन्धानपछि मात्र पुननिर्माणको लागतबारे भन्नु राम्रो हुन्छ । प्रधानमन्त्री र राजदूत बीच शिष्टचार भेट भएको हो । यसबारे जापन सरकारले पुननिर्माण गर्नेबारे अहिले केही भन्नसक्ने अवस्था छैन् ।’
विज्ञहरुले भने जापान सरकारकै सहयोगमा बीपी राजमार्गको पुर्ननिर्माण गर्न सकिने बताएका छन् । पूर्व सचिव सिटौलाले सो काम दुई वर्ष भित्र सम्पन्न गर्ने गरी जापान सरकारको सहयोग लिने बाटोमा जानुपर्ने बताए ।
बीपी राजमार्गले बाढी पहिरोबाट भोगेको नियति विपद्ले राजमार्गहरुमा ल्याउन सक्ने जोखिमका लागि एउटा पाठ हुन सक्ने देखिएको छ । किनभने ठूलो धनराशी, समय र प्रविधि खर्चिएर बनाइएको राजमार्गमा एकाध दिनको बाढी पहिरोले पारेको क्षतिले भविष्यमा महत्वपूर्ण संरचनामा पार्ने प्रभावको पूर्व मूल्याङ्कनका लागि सजगता र सन्देश दिन सक्छ ।