काठमाडौंमा ४० वर्ष माथिका मानिसमा आँखाको समस्या

पुस २, २०८२ | काठमाडौं

काठमाडौं उपत्यकामा ४० वर्ष भन्दा माथिका व्यक्तिहरूमा नसर्ने रोग उच्च रक्तचाप र मधुमेहका कारण आँखाका बिरामी बढेको एक अध्ययनले देखाएको छ । तिलगंगा आँखा विज्ञान प्रतिष्ठानको नयाँ अध्ययनका अनुसार अधिक तौल र मोटोपनाले गर्दा समेत आँखालाई असर पारिरहेको छ । अध्ययनको निष्कर्षलाई हेर्दा आँखाको सुरक्षाका लागि व्यक्ति स्वयम्ले ध्यान दिनुपर्ने भन्दै चिकित्सकले सचेत रहन सुझाव दिएका छन् ।

नेपालमा पछिल्ला केही वर्षमा नसर्ने रोग अत्याधिक रूपमा बढेको सरकारी तथ्याङ्कले देखाएका छन् । ती मध्ये उच्च रक्तचाप र मधुमेह पर्दछन् । र, हालैको एक अध्ययनले उच्च रक्तचाप र मधुमेहका कारण मानिसको आखाँलाई प्रत्यक्ष असर गरिरहेको निष्कर्ष निकालेको छ । काठमाडौँ उपत्यकामा आँखाको रोगसम्बन्धी प्रतिवेदनले ४० वर्षभन्दा माथिका ९७ दशमलव ७ प्रतिशत मानिसमा रक्तचाप र मधुमेहले गर्दा आँखासम्बन्धी कुनै न कुनै समस्या भएको देखाएको हो । 

तिलगंगा आँखा विज्ञान प्रतिष्ठानले अध्ययनको निष्कर्षमा भनिएको छ– अध्ययनमा सहभागीमध्ये ६९ दशमलव ४ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको पाइयो भने ४७ दशमलव २ प्रतिशतमा मधुमेह भएको देखिन्छ । त्यस्तै उच्च रक्तचाप भएका सहभागीमध्ये, एक प्रतिशतमा उच्च रक्तचापका कारण रेटिनामा समस्या देखिएको र मधुमेह भएकामध्ये ७ दशमलव ३ प्रतिशतमा त्यसका कारण रेटिनालाई असर पारेको प्रतिवेदनले देखाएको हो ।

 तिलगंगा आँखा विज्ञान प्रतिष्ठानले केही समयअघि सार्वजनिक गरेको अध्ययनबारे जानकारी दिदै डा.सिर्जना अधिकारीले भनिन्,‘हामिले काठमाण्डौं उपत्यकाका विभिन्न वडाहरुमा पुगेर जाँच गरेका आधारमा तथ्यांक सार्वजनिक गरेका हौं । जाँच गराउँने अधिकांशको समयमै रोगबारे थाहा भएको भए तथा चस्मा लगाएरै सन्चो हुने भएतापनि नलगाइएको पाईएकाले आँखाका रोग देखिने गरेको छ । ’

उच्च रक्तचाप र मधुमेहसँगै, काठमाडौँ उपत्यकामा अधिक तौल र मोटोपनाको समस्याका कारण त्यसको असर आँखामा समेत परेको देखिएको छ । अध्ययनका कुल सहभागीमध्ये ४३ दशमलव ५३ प्रतिशतमा बढी तौल र २३ प्रतिशतमा मोटोपनाको समस्या फेला परेको चिकित्सकहरुले बताएका छन् । शरीरमा सुगरको मात्रा अत्यधिक भएका बिरामीमध्ये १ दशमलव ६ प्रतिशतको आँखामा समस्या भेटिएको छ । आमनागरिकलाई आँखाको स्वास्थ्यबारे सचेत गराउन अध्ययन गरिएको प्रतिष्ठानकी डा.अधिकारीले बताइन् ।

आँखा मानव शरीरको अत्यन्तै संवेदनशील र सजिलै संक्रमण हुन सक्ने अंग हो । धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले आँखालाई असर पार्ने भएकाले सचेत रहनुपर्ने चिकित्सकले सुझाव दिदै आएका छन् । यस्तो अवस्थामा उच्च रक्तचाप र मधुमेहका विरामी बढ्दै जानुलाई चिन्ताजनक मानिएको छ । ती समस्याले आँखासहित मानव स्वास्थ्यमा नकारात्मक असर बढाउँदै लगेको विज्ञहरुको भनाइ छ । उमेर बढ्दै जाँदा आँखामा समस्या आउने भएकाले नियमित जाँच गर्नुपर्ने चिकित्सकहरुले आग्रह गरेका छन् ।

 आखाँलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने प्रश्नमा विशेषज्ञ डा. भुवन नेपालले भने,‘सन्तुलित पोषण, निद्रा, व्यायाम, नियमितरुपमा आँखा जाँच गर्ने, चश्माको उचित प्रयोग गर्ने, सुरक्षाका उपायहरु अपनाउने, धूमपान नगर्ने लगायतमा ध्यान दिन सकेमा आँखालाई स्वस्थ राख्न सकिन्छ । ’

आँखासम्बन्धी समस्या आउन नदिन आम नागरिकको सचेतता निकै आवश्यक छ । यसैक्रममा तिलगंगा आँखा प्रतिष्ठानले जनस्वास्थ्य प्रणालीमा आँखाको जाँच र स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्न समेत सुझाव दिएको छ । 


प्रतिक्रिया