रास्वपाका वरिष्ठ नेता शाह संसदीय दलको नेता चयनभएसँगै प्रधानमन्त्री बन्ने बाटो खुल्ला
चैत्र १२, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह दलको संसदीय दलको नेता बन्नुभएको छ । सो पार्टीले आज शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयनका लागि गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
संसदीय दलको नेता बनेसँगै शाहलाई प्रधानमन्त्री हुने बाटो खुलेको छ । प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था छ । शाहले भोलि प्रधानमन्त्रीको शपथ लिदै हुनुहुन्छ ।
साथै, भोलि नै मन्त्रीमण्डल गठनको तयारी भएको बताइएको छ । संविधानको धारा ७६ को उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिमण्डल गठन गर्न सक्ने व्यवस्था छ । यसैबीच रास्वपाका नेताहरु मन्त्री चयनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।










