अमेरिका, इजरायल र इरानबीचको युद्धको कारण के हो ?
चैत्र १०, २०८२
काठमाडौँ । अमेरिका–इजरायलले इरानमाथि संयुक्त आक्रमण शुरु गरेको तीन साता भन्दा बढी भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा दोस्रो पटक सत्ता आरोहण गरेलगत्तै विभिन्न देशमा आक्रमण भइसकेको पृष्ठभूमिमा इरानमाथि हमला भएको हो । अमेरिकाले आफ्नो परमाणु सुविधा तथा विद्यालय, अस्पताल जस्ता क्षेत्रमा समेत लगातार हमला गरेपछि इरान समेत प्रतिवादमा उत्रिएको छ । तेहरानले अमेरिकी सैन्य आधार भएका खाडी मुलुकमा आक्रमण गरेपछि संकट थप चर्किदै गएको छ । आखिर अमेरिका, इजरायल र इरानबीचको युद्धको कारण के हो त ?
सन् २०१७ मा आएको हलिउडको दी पोस्ट नामक चलचित्रमा एउटा दृश्य छ, जहाँ भियतनाम युद्धमा परमाणु हतियार धनी अमेरिकी सरकारको अहमता प्रष्ट देखिन्छ । भियतनाममा आक्रमण भइरहदा अमेरिकी सेनाले मैदानमा भियतनामी सेनासँग ७० प्रतिशत हारिरहेको रिपोर्ट पठाउँछन् , तर ह्वाइट हाउसमा बसेका वरिष्ठ अधिकारी समक्ष त्यसको ठ्याक्कै उल्टो ७० प्रतिशत जितेको र ३० प्रतिशत मात्र हारिरहेको रिपोर्ट पुग्छ । त्यतिबेला क्षेत्रीय रुपमा चर्चित वासिंटन पोस्टले सो विषयको समाचार बनाउँछ र अमेरिकी नीतिको असली चरित्र देखाउँछ । सन् १९५५ बाट सुरु भएर १९७५ सम्म झण्डै २० वर्षसम्म चलेको युद्धमा अमेरिकाले लज्जास्पद हारसँगै ५८ हजार २२० सैनिक गुमाएको थियो । दोस्रो विश्व युद्धपछिको शीत युद्धमा साम्यवाद फैलिन्छ भन्ने त्रासमा अमेरिका भियतनामसँग युद्धमा होमिएको थियो । सो युद्धलाई लिएर त्यसबेला क्रिडेन्स क्लीयरवाटर रिभाइल सीसीआर भन्ने अमेरिकी रक ब्यान्डले सरकारको चर्को आलोचना गर्दै कालजयी गीत बनाएको थियो । जसमध्ये अर्काको भूमिमा विना कारण आफ्नो निहित स्वार्थ पुरा गर्न सामान्य नागरिकका सन्तानलाई युद्धमा पठाएको भन्दै फच्र्युनेट सन र समडेज्ज नेभर कम्स जस्ता गीत पस्किएका थिए । १९७० को दशकमा आएका यी गीतहरु अझै उत्तिकै सान्दर्भिक देखिन्छन् किनकि अहिले पनि अमेरिका युद्धमा छ । त्यो युद्ध उसको प्रतिद्वन्द्वी या अट्टेरी छिमेकीसँग नभई करिब ११ हजार ७ सय हवाई किलोमिटर दूरीमा रहेको इरानसँग भइरहेको हो । आफू सत्तामा गएपछि रुस–युक्रेन युद्ध २४ घण्टामा रोक्ने दाबी गर्ने ट्रम्प आफैँले अहिलेसम्म सात मुलुकमा विभिन्न बहानामा आक्रमण गरिसकेका छन् । कतिसम्म भने तेलको लागि भन्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनको पत्नीलाई मध्यरातमा हतकडी लगाएर अमेरिका पु¥याइएको थियो ।
पहिलोपटक राष्ट्रपतिको उम्मेदवारी दिँदा ट्रम्प आफैले तत्कालीन डेमोक्रेटिक पार्टीको सरकारले नामै नसुनेका मुलुकको स्वार्थ पूरा गर्न अमेरिकी सेना पठाएको, जनताको करको दुरुपयोग गरेको जस्ता आरोप लगाएका थिए । अधिकांशले उनलाई मत दिनुको एउटा आधार विश्व शान्ति कायम राख्न र अमेरिकालाई युद्धबाट पन्छाउन थियो । तर ट्रम्पको दोस्रो कार्यकाल आफ्ना अन्य पूर्ववर्ती राष्ट्राध्यक्षको भन्दा फरक देखिन्न । ट्रम्प प्रशासनले सन् २०२५ जुन १३ मा इरानसँग परमाणु कार्यक्रम रोक्ने वार्ता जारी रहँदा इरानका परमाणु र सैन्य सुविधाहरुमा आक्रमण गरेको थियो । जसमा इरानले केही घण्टामा नै इजरायली सहरहरुमा प्रत्याक्रमण गरेको थियो । अमेरिकाले जुन २२ मा इरानका नातान्ज, फोरदो र इस्फाहान जस्ता परमाणु सुविधामा आक्रमण गर्यो । त्यसबेला १२ दिनसम्म चलेको युद्धमा अन्ततः युद्धविराम भयो । त्यसपछि फेरि अमेरिका–इजरायलले इरानमा फेब्रुअरी २८ मा संयुक्त हमला गरेपछि युद्ध शुरु भएको हो । जसमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी र उनको नातिसहित परिवारको ७ सदस्य मारिएका थिए । त्यसपछि रुष्ट इरानको प्रत्याक्रमणले अहिले खाडी मुलुकमा पछिल्ला दशकहरुकै सबैभन्दा ठूलो तनाव र विध्वश निम्त्याएको छ । भेनेजुएलामा आक्रमण गर्दा सहजै सत्ता परिवर्तन भएजस्तो इरानमा भएको आक्रमण ट्रम्प प्रशासनको लागि सहज देखिदैन । आखिर दशकौँ देखि वासिंटन डीसीले आक्रमण गर्नबाट रोकिराखेको इरानमा ट्रम्प किन हमला गर्न अघि सरे ? धेरैको लागि यो प्रश्न अझै अनुत्तरित छ । परमाणु हतियार बनाइरहेको इरानमा आफूले हमला नगरे तेहरान आक्रमणको तयारीमा रहेको ट्रम्पले दाबी गरिरहेका थिए । तर उनको दाबी अमेरिकी गुप्तचर निकायको मूल्यांकन प्रतिवदेनले नै निस्तेज पारिदिएको छ । राष्ट्रिय गुप्तचर निर्देशनालयकी निर्देशक तुल्सी गब्बार्डले इरानले आफ्नो आणविक संवद्र्धन क्षमता पुनर्निर्माण नगरेको खुलासा गरेकी थिइन् । अमेरिकी सिनेटको गुप्तचर समितिलाई बुझाएको लिखित प्रतिवेदनमा गब्बार्डले इरानका परमाणु सुविधा क्षेत्रहरु सन् २०२५ को अमेरिकी आक्रमणमा जरैदेखि उखेलिएको र पुन सुरु गर्न सकिने अवस्था नरहेको बताएकी थिइन् । त्यसैले भियतनाम, अफगानिस्तान, इराक युद्ध जस्तै इरान युद्धलाई लिएर अमेरिकाभित्रै प्रश्न उठेका छन् । अमेरिकी सदनमा यो युद्ध अमेरिकाको नभई इजरायलको भएको र यसमा अमेरिका संलग्न हुनु कुनै तुक नभएको भन्दै ट्रम्पको चर्को आलोचना भएको छ । युद्धको पक्षमा ट्रम्पले सिनेटबाट समर्थन पाएपनि उनको आलोचना कम भएको छैन ।
चार हप्ता पुग्न लागेको युद्धमा ट्रम्पले किन र कसका लागि आक्रमण गरे भन्ने स्पष्ट जवाफ दिन सकेका छैनन् । इरानमा आक्रमण गर्दा यौन दुराचारसँग जोडिएका जेफ्री एस्टिनको ३ मिलियनभन्दा बढी फाइलमा ट्रम्पको नाम ३८ हजारपटकभन्दा बढी आएको भन्दै उनको व्यापक विरोध भइरहेको थियो । त्यसैले इरान युद्ध घरेलु मुद्दालाई विषयान्तर गर्ने एजेण्डा भएको कतिपयको टिप्पणी छ । तर दी न्यूयोर्क टाइम्सजस्ता मिडिया रिपोर्टकाअनुसार ट्रम्पले इरान युद्ध गर्नुको पछाडि उनको ज्वाइँ ज्यारेड कुश्नरको व्यापारिक स्वार्थलाई हेरिएको छ । रोयटर्सकाअनुसार गत वर्ष मात्रै ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गर्दै बाहिर रहेका २० भन्दा बढी प्रोजेक्टमा निजी व्यापार बढाएर १ दशमलब ४ विलियन अमेरिकी डलर नाफा कमाएका थिए । ट्रम्पको इरान युद्ध पनि त्यही नाफाको सिलसिलाको रुपमा हेरिएको छ । साउदी अरेबियाले ज्वाइँ कुश्नरको लागि २ बिलियन अमेरिकी डलर लगानी दिएको छ । भन्नै परेन, कुश्नर मध्यपूर्वको लागि अमेरिकाको प्रमुख पात्र हुन् । उनी हरेक वार्तामा अमेरिकी विशेष दूत विटकोफ सँगै हुन्छन् । उनले साउदी अरबसँग आफ्नो निजी व्यापारको लागि थप पैसा मागेको समचार दी न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । उनीमाथि पैसा माग्ने र देशको नीति सो मुलुकको स्वार्थप्रति ढल्किएको आरोप छ । साउदी अरेबिया इरानको प्रतिस्पर्धी मुलुक हो । त्यहाँ हमला गर्दा रणनीतिक रुपमा साउदी अरबलाई फाइदा हुन्छ । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले युद्ध तेस्रो साता पुग्दा इरानमा बमबारी जारी राख्न ट्रम्पसँग लगातार फोन सम्पर्कमा रहेको समाचारमा उल्लेख छ । अर्कोतर्फ इरान इजरायलको पुरानो दुश्मन हो । त्यसैले इजरायल र साउदी अरबको लागि यो युद्ध जति जायज देखिन्छ, उति अमेरिकाको लागि औचित्यहीन ।
वर्तमान अवस्थासम्म आइपुग्दा अमेरिका–इजरायल र इरान युद्ध पेचिलो बन्दै गएको छ । तेलको भाउ विश्वव्यापी रुपमा बढेको छ । विश्वको २० प्रतिशत तेल इरानको हर्मुज जलघाँटी मार्ग हुँदै आउने गरेको छ । सो क्षेत्रमा तेहरानले अहिले नाकाबन्दी लगाएको छ । त्यहाँबाट अमेरिका र पश्चिमा मुलुकलाई तेलको जहाज लैजान प्रतिबन्ध छ । तेलको अभावले भारतका मझौला होटल व्यवसाय प्रभावमा परेका छन् । चीन, अमेरिका र रुससँग तेलको भण्डारण भएपनि अधिकांश मुलुकसँग भण्डारण नहुँदा असर परेको छ । युद्धले इन्धन र आपूर्ति शृंखला प्रभावित पार्दा विश्वको इन्टरनेट सञ्चालनमा समेत ठूलो संकट निम्त्याउन सक्ने आशंका बढेको छ । समुन्द्री क्षेत्रको पिंधमा हजारौं किलोमिटर लामा अप्टिकल फाइबर बिछ्याइएका छन् । यी केबल विश्वभरको डिजिटल सञ्जालका मेरुदण्ड मानिन्छन् । अहिले इरानले यो जलमार्ग बन्द गरेको र हुथी विद्रोहीका कारण लालसागर क्षेत्रमा तवाव बढ्दा इन्टरनेट सेवा प्रभावित हुने खतरा देखिएको छ ।
यता अहिलेसम्म परमाणु हतियार नबनाएको तेहरानले अमेरिकी दबाबको सामना गर्न अब अब परमाणु हतियार बनाउन सक्ने अनुमान बढेको छ । अर्कोतर्फ अमेरिकी वरिष्ठ सुरक्षा अधिकारी जोसेफ केन्टले अमेरिकीको लागि कुनै फाइदा नभएको युद्धमा संलग्न हुन नसक्ने बताएपछि ट्रम्प चिन्ता थप बढेको छ । साथमा, उत्तर एटलान्टिक सन्धि संगठन र युरोपेली मुलुक तथा अमेरिकाको सहयोगी मानिने जापानलगायत मुलुकले यस युद्धमा सामेल नहुने र आफल्ना सैन्य आधार प्रयोग गर्न नदिने बताएपनि ट्रम्पमाथि युद्ध रोक्न दबाब बढ्दै छ । उनले इरानमा भइरहेको नागरिक विद्रोहले खामेनीको हत्यापछि सत्ता परिवर्तन होला भन्ने सोचेपनि त्यसो हुन सकेको छैन । उल्टै खामेनीका उत्तराधिकारी कट्टरपन्थी मोज्तबा खामेनी नयाँ सर्वोच्च नेता चुनिएका छन् । त्यसो त ट्रम्पले गत साताको अन्त्यतिर अब युद्ध नगर्ने दाबी गरेपनि उनले इरानमा आक्रमण जारी राखेका छन् । अमेरिकाले बमबारी गरिराखेपनि इरानले ६ महिनासम्म हर्मुजमा नाकाबन्दी लगाउन सक्ने विश्लेषकहरु बताउँछन् । यस्तोमा अमेरिका सकिने कि सच्चिने भन्ने सोच्न जरुरी देखिन्छ । जसले अमेरिकी अर्थव्यवस्था र विश्व अर्थव्यवस्थालाई असर पार्नेछ । यो युद्ध अन्त्य गर्न इरानले आफ्नो वैध अधिकारलाई मान्यता दिनुपर्ने वा (सम्भवतः युरेनियमलाई समृद्ध बनाउनुका साथै युद्धको क्षतिपूर्ति दिनुपर्ने र आफूविरुद्ध भविष्यमा आक्रमण नगर्ने अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनुपर्ने लगायत सर्त अघि सारेको छ । यदि त्यसो हो भने के इरानको सर्त मानेर युद्ध रोक्न ट्रम्प प्रशासन तयार होला त ? भन्ने सवाल निकै महत्वपूर्ण छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यको सहयोगमा










