नेपाली सुन्तलाको माग भारतीय बजारमा

माघ ७, २०७६ | सुनसरी

भारत निर्यातका लागि नेपाली सुन्तला सूचीकृत नगरिएकाले क्वारेन्टाइन समस्या देखिएको छ । मंसिरदेखि फागुन सम्ममात्र सुन्तलाको सिजन हुने भएकाले ठूला व्यवसायीले त्यता तिर ध्यान दिन सकेका छैनन् । 

आधिकारिक रुपमा नेपाली सुन्तला भारतीय बजारमा निर्यात भएको देखिंदैन । तर, पूर्वी पहाडमा उत्पादित सुन्तला धरानको कृषि उपज बजारमा आइपुगेपछि त्यहीबाट भारतीय व्यापारीले पूर्वी नाका झापाको काँकडभिट्टा र दक्षिणी नाका जोगबनीबाट आफ्नै तरिकाले निर्यात गर्ने गरेका छन् । 

भारतीय उपभोक्तासम्म पुग्ने नेपालको पूर्वी पहाडमा उत्पादित सुन्तलाको करीब ३० देखि ३५ प्रतिशत रहेको छ । यो भनेको करीब ३ हजार मेट्रिक टन हो । यतिबेला भारतमै पनि स्थानीय स्तरमा उत्पादित सुन्तला बजारमा निस्केका छन् । तर, भारतीय सुन्तलाको तुलनामा नेपाली सुन्तलाको स्वाद चखिलो, स्वादिलो र गुलियो हुने भएकाले भारतीय बिचौलीयाहरुले अनेक उपाय गरेर लैजाने गरेका छन् । 

धरानस्थित कृषिउपज बजारका पूर्व अध्यक्ष समेत रहेका व्यापारी काजी गिरीले भन्नुभयो, ‘भारतीय सुन्तलाको स्वाद त्यति मिठो हुन्न र बोक्रा पनि बाक्लो हुन्छ । तर, नेपाली सुन्तलाको स्वादै फरक हुन्छ । बोक्रा पनि पातलो हुन्छ । उपभोक्तालाई फाइदै फाइदा हुने भएकाले नेपाली सुन्तलाप्रति भारतीय उपभोक्ता आकर्षिक हुने भएकाले बिचौलीयाहरुले अनेक उपाय गरेर सिमा पार गर्छन् ।’

अनधिकृत रुपमा नेपाली सुन्तला भारतीय बजारमा पुग्दा नेपाली कृषकलाई भने घाटा हुने गरेको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराइले भन्नुभयो, ‘कृषकहरुले पहाडबाट धरानका व्यापारीलाई थोक मूल्यमा बिक्री गर्छन् । व्यापारीले पनि त्यस दिनको थोक मूल्य अनुसार अरु व्यापारीलाई बिक्री गर्छन् । तर, ती सुन्तला भारतीय बजारमा अनधिकृत रुपमा पुर्‍याउँदा त्यसको मूल्य धेरै फरक भइसकेको हुन्छ । स्वादकै कारण नेपाली सुन्तला भारतीय सुन्तला भन्दा महँगो हुन्छ ।’

उहाँका अनुसार धरानमा आएका भारतीय व्यापारीहरुले झापा, मोरङ, सप्तरी, सिराहा, जनकपुर लैजाने भनेर आउने गरेका छन् । उहाँले भन्नुभयो, ‘नेपाल र भारत सरकारले नेपाली सुन्तलाको विषयमा क्वारेन्टाइनको समस्या समाधान गर्न सके कृषकले मूल्य पाउने थिए । किनभने नेपाली सुन्तला भारतीय बजार माग अत्यधिक छ ।’

उहाँका अनुसार पूर्वी पहाडमा यसवर्ष सुन्तलाको उत्पादन गतवर्षको तुलनामा ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । गत आर्थिक वर्षको माघ पहिलो साता सम्म थोक मूल्यमा २४ करोड रुपैयाँको २ हजार ४ सय मेट्रिक टन कारोबार भएको थियो । गतवर्षको तुलनामा यस वर्ष बढी उत्पादन भएकोले ४० प्रतिशतले कारोबार बढ्ने कृषकहरु बताउँछन् । 

कृषि उपज बजारमा यो सिजनमा ९ हजार ५ सय मेट्रिक टन अर्थात करीब १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘माघ पहिलो साता सम्ममा करीब ३० करोड रुपैयाँको २ हजार ९ सय २० मेट्रिक टन सुन्तलाको कारोबार भयो । यसवर्ष प्रति केजी मूल्य भने थोकमा १ सय १५ रुपैयाँ रहेको छ ।’ 

मूल्यामा समेत २५ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष यो समयमा औषतमा ८५ रुपैयाँ प्रति केजी थियो । स्थानीय उत्पादन विषादी रहित हुने विश्वास र सुन्तलाको स्वाद लिन मौसमले पनि साथ दिएकाले खपत बढ्दा मूल्य वृद्धि भएको उपभोग पनि बढेको आँकलन गर्न सकिन्छ ।’

गतवर्ष धरानको कृषि उपज बजारबाट औसतमा ७० करोड रुपैयाँ बराबरको ७ हजार ५ सय १९ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला समग्रमा औसत प्रति किलो मूल्य ९० रुपैयाँ रहेको थियो । सुन्तलाको मध्य सिजन चलिरहेको बेला हाल धरानमा दैनिक २५ देखि ३० मेट्रिक टन सुन्तलाको कारोबार भईरहेको भट्टराईले बताउनुभयो । 

धरानमा धनकुटाको बुधूक, बोधे, खोकू, भोजपुर, संखवासभा, खोटाङ्ग, तेह्थुम, पाँचथर, ताप्लेजुङबाट कृषक र व्यापारीहरुले सुन्तला ल्याउने गरेका छन् । पूर्वी पहाडको सुन्तलाको बजारीकरण गर्न सके वार्षिक पाँच अर्ब रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन र बिक्री गर्न सकिने अवस्था छ । 

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिमा अर्बौ बजेट विनियोजन गरेका छन् । तर, स्थानीय कृषक र व्यापारीलाई उत्पादित सुन्तलाको प्याकेजिङ, ब्राण्डिङ र बजारीकरण गर्नमा कुनै सहयोग नगरेकाले तेश्रो मुलुकमा निर्यात गर्न नसकिएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । 


प्रतिक्रिया