आर्थिक वर्ष २०७७/०७८ को बजेट आज सार्वजनिक हुँदै

जेष्ठ १५, २०७७ | काठमाडौं

सरकारले आर्थिक बर्ष २०७७/७८ को बार्षिक आयव्ययको अनुमानित विवरण आज सार्वजनिक गर्दैछ । राष्ट्रिय योजना आयोगले दिएको साढे १७ खर्बको सिलिङभित्र रहेर अर्थमन्त्रालयले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्न लागेको हो । त्यसका लागि संघीय संसदको संयुक्त बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणका कारण केही क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने दबाव बजेटमा छ । सरकारले योपटक कोरोना संक्रमणले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । 

न्यूनतम आर्थिक क्रियाकलाप सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री खतिवडाले सदनमा जानकारी दिइसक्नुभएको छ । तर संक्रमणको असर अनिश्चित रहेको र त्यसले राजश्व संकलनमा प्रभाव पार्ने भएकाले अर्थ मन्त्रालयलाई यो पटक बजेटको श्रोत जुटाउनै मुश्किल छ । 

सीमित श्रोतका बीच आउने बजेट स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषि र प्रविधिका क्षेत्रमा केही नयाँ कार्यक्रमसहित सार्वजनिक हुने जानकारहरुको अनुमान छ ।

सदनमा आज प्रस्तुत हुने बजेटमाथि आईतबारबाट सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । प्रक्रिया छोट्याएर छिटै बजेट पारित गर्ने तयारी संसद् सचिवालयले गरेको छ । 


प्रतिक्रिया