राष्ट्रिय धान दिवस मनाइँदै

असार १५, २०८२ | काठमाडौं

आज असार १५ अर्थात ‘धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि मनाइन्छ । 

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । 

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । वार्षिक रुपमा दिवस मनाइरहँदा मुलुक भने धानमा अझै आत्मनिर्भर हुन सकेको छैन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अझै पनि १० लाख टन धान अपुग छ । चालू आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । बर्सेनि अर्बौं रुपैयाँको धान–चामल आयात भइरहेका बेला सरकारले भने दुई वर्षमा चामलमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको छ । 

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने गरी तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । यसैबीच, यसवर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण रोपाइँ हुनसकेको छैन । 

आधा असार बित्दा १६ प्रतिशत हाराहारी मात्र रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । सरकारले १३ असारसम्म १५ दशमलव ६ प्रतिशत मात्र रोपाइँ भएको आकडा सार्वजनिक गरेको हो । समयमै वर्षा नहुँदा बढी धान फल्ने मधेश प्रदेशमा रोपाइँ नै हुनसकेको छैन । 

मधेश प्रदेशमा तीन दशमलव ९ प्रतिशत मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।


प्रतिक्रिया