माथिल्लो तामाकोसी जलविद्युत केन्द्रमा पूर्ण क्षमतामा विद्युत उत्पादन शुरु

असार १३, २०८२ | काठमाडौं
दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ ।
जलविद्युत केन्द्रले पोखरी मर्मत सकिएसँगै २४ सै घण्टा ४ सय ५६ मेगावाट पूर्ण क्षमताको विद्युत उत्पादन गर्न थालेको हो । गत बर्ष असोजमा आएको पहिरोले माथिल्लो जलविद्युत केन्द्रको दुवै बालुवा थिग्राउने पोखरी अर्थात डिस्यान्डर क्षति बनाएको थियो ।
बालुवा थिग्राउने दुवै पोखरी मध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरेर बाँधका सबै ढोका खोलेर विद्युत उत्पादन गर्दै आएको थियो । दायाँतर्फको डिस्यान्डर मर्मत भएपछि जलविद्युत केन्द्रले बाँधस्थलमा पानी भरेर जलविद्युत केन्द्रलाई पूर्ण क्षमतामा संचालनमा ल्याएको केन्द्रका प्रवन्धक पूर्णगोपाल रञ्जितले बताउनुभयो ।
बर्षाको ३ महिनामा हुने कम्पनीको घाटा कम गर्न आंशिक रुपमा दुवै डिस्यान्डर मर्मत गरेर संचालनमा ल्याईएको उहाँले बताउनुभयो ।