'बजेट कार्यान्वयन चुनौतीपूर्ण'

जेष्ठ १८, २०७७ | काठमाडौं

सरकारले हालै ल्याएको आगामी आर्थिक बर्षको बजेट व्यवहारिक नभएको भन्दै प्रतिपक्षी दलहरुले सरकारको आलोचना गरेका छन् । सत्तारुढ दलका सांसदहरुले भने परिस्थिती बमोजिमको प्राथमिकता निर्धारण गरी बजेट विनियोजन भएको भन्दै यसको बचाउ गरेका छन् ।

प्रतिनिधिसभामा आज शुरु बजेटमाथिको छलफलका क्रममा कांग्रेसका मिनेन्द्र रिजालले कोरोनाले ल्याएको संकटलाई अवसरमा बदल्ने मौका सरकारले गुमाएको टिप्पणी गर्नुभयो । ८३ पेजको बजेटमा स्रोतको स्पष्टता नरहेको रिजालको भनाइ थियो । कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि स्थानीय तहमा बजेट विनियोजन गर्न आनाकानी गरिएको रिजालको आरोप छ ।

राष्ट्रिय जनता पार्टी राजपाका राजेन्द्र महतोले राज्यधारीलाई पक्षपोषण गर्न मात्र बजेट ल्याइएको भन्दै यो चरित्रअनुसारको भएको बताउनुभयो । सरकारले बजेटमार्फत पनि संघीयतालाई कमजोर पार्ने काम गरेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न दिन नहुने बताउनुभयो । कोरोनाले स्वास्थ्य क्षेत्रलाई नराम्रोसाग प्रभावित गरेको अवस्थामा कम्तिमा १० प्रतिशत बजेट छुट्याउनुपर्नेमा ६ प्रतिशतमात्रै छुट्याइएकोले नपुग्ने उहाँको भनाई छ ।

सत्तारुढ नेकपाका सुरेन्द्र पाण्डेले बजेट महत्वकांक्षी नभएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो । बजेटले सबै पक्ष समेट्न सफल भएको उहाँको भनाई थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि विहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभामा पनि छलफल

राष्ट्रिय सभाको छलफलमा भाग लिदै सदस्य नारायणकाजी श्रेष्ठले बजेटले स्वास्थ्य क्षेत्रमा प्रगति, सुधार र विकासको बिषयलाई प्राथमिकता दिएको बताउँदै रोजगार र कृषि क्रान्ति तथा आर्थिक सम्बृद्धिलाई समेत उपयुक्त सम्बोधन गरेको दाबी गर्नुभयो । सिद्धान्त र उद्धेश्य तथा प्राथमिकताको क्षेत्रबाट बजेट उपयुक्त भएको तर्क गर्दै उहाँले तत्कालको परिस्थितिमा जनता र अर्थतन्त्र बचाउन यो बजेट सफल हुने बताउनुभयो ।

जनस्वास्थ्यको सवालमा बजेट मौन बसेको भन्दै नेता श्रेष्ठले कोरोनाको कहरपछि विश्वब्यापी रुपमा बहस भइरहेको जीवन दृश्टिकोण, विकासको ढाँचा र सामाजिक आर्थिक प्रणालीबारे आगामी आर्थिक वर्षको बजेट मौन रहेको भन्दै आपत्ति जनाउनुभयो ।

सदस्य जितेन्द्रनारायण देवले बजेटले तल्लो तहका जनताको समस्या समाधानका लागि कुनै कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सदस्य मृगेन्द्रकुमार सिंह यादवले सरकारले बजेट मार्फत हरेक क्षेत्र छुन खोजेपनि पर्याप्त हुन नसकेको तर्क गर्नुभयो । कृषि क्रान्तिको चर्को नारा लगाउने सरकारले मलमा कर लगाएर कृषकलाई घात गरेको उहांको आरोप थियो ।

राष्ट्रिय सभाको अर्को बैठक भोली बिहान ११ बजेका लागि बोलाईएको छ ।  


प्रतिक्रिया