सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ छिचोलियो

वैशाख २६, २०८१ | सिन्धुली

सिन्धुलीमा निर्मित सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ छिचोलिएको छ । सुनकोशी गाउँपालिका–७ को कानढुङ्ग्रीमा रहेको डाइर्भसनको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेसँगै सुरुङ छिचोलिएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ खन्ने टीबीएम मेसिनको स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभयो । त्यसपछि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सो आयोजनाले गुणात्मक योगदान गर्ने बताउनुभएको छ ।

मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षभरि सिँचाईको सुविधा सहित उत्पादकत्व वृद्धि भई आयातको सन्तुलनमा समेत सघाउ पुग्ने उहाँको भनाइ छ ।

२०७७ साल फागुन २० गते कमलामाइ–२ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भई आयोजना निर्माणको थालनी भएको थियो ।

२२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै सुरुङ छिचोलिएको भन्दै बाँकी काम निर्धारित समयमा नै सम्पन्न गर्न प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सुनकोशी र तामाकोशी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको बहुआयमिक विकासमा सुनकोशी–मरिण डाइर्भसन आयोजना महत्वपूर्ण हुने उहाँको भनाइ थियो

आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रहेको छ । उच्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्नको लागि सुनकोसी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँँध निर्माणको काम भइरहेको छ । 


प्रतिक्रिया