बजार खोज्दै धरान पुगे जुम्लाका स्याउ किसान

धरानमा बजार खोज्दै, जुम्लाका स्याउ किसान । तस्वीर: प्रदीप मेन्याङ्बो, रेडियो कान्तिपुर 

आश्विन २, २०७७ | धरान

बोटबाट टिपेको तीनदेखि छ महिना पछि बजारमा आइपुगेको स्याउ खाने कि ताजा स्याउ खाने ? टिपेको साता दिनभित्रको ताजा स्याउ खाने हो भने रैथाने स्याउ छान्न सक्नुहुन्छ । कर्णाली प्रदेशको जुम्लास्थित तातोपानी गाउँपालिका ४ मा उत्पादन भएको रैथाने स्याउ असोज पहिलो सातादेखि बजार खोज्दै धरानसम्म ढुवानी हुन थालेकाले अवदेखि उपभोक्ताले विकल्प अपनाउन सक्ने भएका छन् ।

दुई दिन देखि धरानको कृषि उपज बजारमा जुम्ली स्याउ विक्रि गर्दै बसेका छन् कृषक खड्गवहादुर केसी । उनको आफ्नै बारीमा उत्पादित रैथाने स्याउ धरानका उपभोक्ताहरुले खुव रुचाए । भारत र चीनका विभिन्न प्रान्तमा कृषकहरुले टिपेको ३ महिनादेखि ६ महिनामा बल्ल धरान आइपुगेको ‘हाइव्रिड’ स्याउमात्र खादै आएका उपभोक्ताले जुम्लाको रैथाने ताजा अर्गानिक स्याउको स्वाद अलिक भिन्न पाए । स्वदेशी स्याउको बजार खोज्दै जुम्लाका कृषक धरान आइपुग्दा स्थानीय उपभोक्ताले पनि स्वदेशी स्याउको स्वाद चाख्न पाए ।

जुम्लाका स्याउ कृषक खड्गबहादुर केसीले धरानका उपभोक्तालाई जुम्ली स्याउको फरक स्वाद चखाएका थिए । उनले जुम्लाको तातोपानीबाट धरानसम्म स्याउ ढुवानी गर्न पाँचदिन लगाएको केसीले बताए । उनले ठट्यौली शैलीमा भने, ‘विदेशी स्याउले वाक्क भएका धरानका उपभोक्तालाई जुम्लाको रैथाने स्याउको स्वाद चखाउन पहिलो पटक आइयो ।’ उनकाअनुसार बाटो र ढुवानी समस्याले धरानसम्म ल्याउन पाँच दिन लागेको हो ।

केसीले नारायणी पुर्व जुम्लाको स्याउ पहिलो पटक ढुवानी गरेका हुन् । जुम्लाको स्याउको बजार र उपभोक्ताको प्रतिक्रिया बुझ्न धरानमा अझै एकसाता बस्ने बताउदै उनले भने, ‘कास्मिर र चीनबाट आउने स्याउको तुलनामा जुम्लाबाट धरानसम्म स्याउ ल्याउन दुरीको हिसावले टाढा होइन तर जुम्लाबाट यहासम्म आइपुग्न बाटै दुर्गम छ । त्यहीमाथि ढुवानी भाडा झन महंगो, अरु समस्या त छदैद ।’ उनले जुम्लाको गाउमा करिव १० हजार वर्गफिटमा स्याउ खेती लगाएको बताए ।

स्वदेशी स्याउको स्वादलाई स्थानीय उपभोक्ताको जिब्रोले पहिचान गर्न सके विदेशी स्याउ विस्थापित हुन सक्ने दावी गरे । विदेशी स्याउ विस्थापित गर्न भने स्याउ कृषकहरुले मात्र चाहेर नहुने पनि केसीले बताए । उनले भने, ‘सरकारले पनि स्वदेशी स्याउ कृषकलाई प्रोत्साहित गर्दै बजार, ब्राण्डीङ, प्याकेजिङ र ढुवानीमा सुविधा दिन सक्नु पर्‍यो । के थाहा नेपालको रैथाने स्याउ भविष्यमा विदेशी बजारमा पनि माग हुन सक्छ कि ।’ उनले दशैं अगाडि जुम्लाबाट फेरि ३ टन स्याउ ल्याउने पनि बताए ।

पहिलोपटक उनले धरानमा साढे तीन टन जुम्ली स्याउ लिएर आएको बताए । जुम्लाको तातोपानी देखि कालिकोट, दैलेख, सुर्खेत हुदै दाङ सम्मको २ सय ३२ किलोमिटर दुरीको सडकमा निकै हम्मेहम्मे भएको केसीले बताए । दाङबाट भने हाइवे भएकाले धरान आइपुग्न सहज भएको बताए । उनले भने, ‘दाङबाट जुम्लासम्म पुग्ने सडक पनि हाइवे भएको भए चाही धरानसम्म जुम्ली स्याउ ढुवानी गर्न दुइदेखि तीन सम्म लाग्न सक्थ्यो । तर के गर्ने सडक नै वेहाल छ ।’

उनकाअनुसार जुम्लामा स्याउ खेती सुरु भएको सय बर्ष बढी भयो । तर व्याबसासीयकरुप लिएको भने करिव दुइ दशक मात्र भएको छ । जुम्लाका अधिकांस कृषकले स्याउ खेती गर्दै आएका छन् । तर बजार, ब्राण्डिङ, प्याकेजिङ र ढुवानी मैत्री सवारी साधन नहुदा पुर्पुरोमा हात राखेर बस्नु परेको पनि केसीले बताए । उनले भने, ‘विदेशका स्याउ ढुवानी गर्ने सवारी साधनमा एयर कन्डिसन हुन्छ । जति समय विते पनि स्याउ विग्रदैन । नेपालमा त्यस्तो छैन ।’

उनले जुम्ली स्याउ हाइव्रिड गरेको, विषादि हालेको वा कुनै छेडछाड नगरेकाले रैथाने भएको पनि बताए । उनको भनाईलाई सही थाप्दै धरानस्थित कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘विदेशी स्याउको तुलनामा जुम्ली स्याउ अर्गानिक नै हो । स्वाद केही फरक छ । समस्या भनेको मार्केटिङ र ढुवानी नै हो । यदि नियमित रुपमा ढुवानी गर्ने हो भने यसको माग बढ्दै जाने छ ।’ उनले विदेशी स्याउको तुलनामा स्वदेशी स्याउको मुल्य निकै कम भएको पनि बताए । उनले करिव अढाइ टन जुम्ली स्याउ दुइदिनमै खपत भएको छ । बांकी स्याउ पनि अव दुइदिन भित्र सकिने बताए । धरानमा बार्षिक रुपमा २ हजार ५ सय मेट्रिक टन अर्थात करिव ६० करोड रुपैयाँ बराबराको स्याउ खपत हुने हने गरेको छ ।


प्रतिक्रिया