लमजुङका होमस्टेमा पर्यटकको घुँइचो

लमजुङको पर्यटकीय गाउँ क्व्होलासोंथर गाउँपालिका–३, घलेगाउँमा आएका पर्यटक र पर्यटकले लिएर आएको सवारी साधन । तस्बिर: आश गुरुङ/रेडियो कान्तिपुर । 

चैत्र १४, २०७७ | लमजुङ

गत असोज १ गतेदेखि लमजुङको क्व्होलासोंथर गाउँपालिका–३, स्थित स्मार्ट भिलेज अर्थात घलेगाउँको होमस्टे खुल्यो । गत वर्षको चैतदेखि बन्द रहेको होमस्टे खुलेपनि पर्यटक आएनन् । घलेगाउँको होमस्टे खुलेको ३ महिनापछि गत मंसिरबाट भुजुङको होमस्टे पनि सञ्चालनमा आयो । 

भुजुङमा पनि सुरुमा पर्यटक आएनन् । तर, हिजोआज यी २ गाउँमा पर्यटकको चहलपहल निकै बढेको छ । घलेगाउँको होमस्टेमा पर्यटक नअटेर वैकल्पिक व्यवस्था गरिएको छ । बढी पर्यटकलाई अन्य घरहरुमा राखिएको र केहीलाई घनपोखरा नायुतर्फ पठाइएको छ । भुजुङको होमस्टेमा पनि पर्यटक खचाखच भएको स्थानीय बताउँछन् । 

घलेगाउँमा पछिल्लो साता दैनिक ३ सय बढीको संख्यामा पर्यटक आउने गरेका छन् । यहाँका ४० घरका होमस्टेमा करीब २ सय पर्यटक अटाउँछन् । होमस्टे सञ्चालक कमला गुरुङका अनुसार पर्यटकको चहलपहलले गाउँले उत्साहित छन् । ‘कोरोनापछि पर्यटक नहुँदा सधैं यस्तै पो हो कि झैं लागेको थियो । अहिले त पर्यटक दिनदिनै आउँछन् । हामीलाई भ्याइनभ्याई छ ।’ 

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार माघ महिना यता मासिक १ हजार १ सय पर्यटक आएका थिए । पछिल्ला साता ३ सय पर्यटक आएको उहाँले बताउनुभयो । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार कोरोना महामारीका कारण लामो समय सुनसान बनेको घलेगाउँमा अहिले पर्यटकको आवागमन बढेको बताउनुभयो । तराईतिर गर्मी बढेपछि घलेगाउँको २ हजार १ सय मिटर उचाईमा पर्यटक आगमन बढेको छ । 

पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार भुजुङका २२ घरका होमस्टेमा हिजोआज पर्यटक टुटेका छैनन् । सामान्यदेखि उच्च ओहोदाका पर्यटक आउने गरेको उहाँले बताउनुभयो । सेवा निवृत्त कर्मचारी भुजुङ आएर आनन्दले बस्ने गरेको उहाँको भनाई छ । गुरुङका अनुसार केही दिनअघि सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान लगायत भुजुङ घुम्न आएका थिए । 

घलेगाउँ र भुजुङ आउने पर्यटक ठूलो बस, जिप, स्कोरपियो, कार लिएर आउने गरेका छन् । घलेगाउँ र भुजुङमा मात्रै नभएर राइनासकोट, काउलेपानी, सिउरुङ लगायत गाउँमा पनि पर्यटकको घुँइचो लाग्ने गरेको छ । राइनासकोटको १४ घर होमस्टेमा पर्यटक खचाखच भएको होमस्टे सञ्चालक विष्णु गुरुङले बताउनुभयो । काउलेपानी सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष देउबहादुर गुरुङका अनुसार गाउँका १४ घर होमस्टेमा पर्यटकको चहलपहल बढेको छ । 

लमजुङमा दर्जन बढी गाउँमा होमस्टे सञ्चालन गरिएका छन् । पर्यटक विस्तारै नयाँ नयाँ होमस्टे खोजेर जाने गरेका छन् । घनपोखरा, पसगाउँ, खासुर, भुष्मे, ताघ्रिङ छापा, रक गार्डेन, नरुवल, तुर्लुङकोट, तार्कु लगायत होमस्टेमा पर्यटकको आवागमन बढ्न थालेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले दैनिकजसो लमजुङको होमस्टे र यहाँको स्वागतसत्कार बारे जानकारी लिन फोन आउने गरेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले सबै होमस्टे खुलेका छन् । दैनिक होमस्टे र यसका विशेषता, यातायात सुविधा बारे जानकारी दिने गरेका छौं ।’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको घलेगाउँ र सिरुबारी ‘ब्रान्ड’ बनेकाले सबै पर्यटकीय गाउँलाई ब्रान्ड बनाएर पर्यटन प्रवर्धन गर्न सकिएमा सरकारले लिएको सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थकता पाउने बताउनुभयो । प्रदेश सरकारले होमस्टेको भौतिक संरचना निर्माण, विभिन्न तालिम लगायतमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया