२२ सय कार्टुन खानेतेल बोकेको ट्रक एक सातापछि फेला

वैशाख १, २०७८ | सिरहा

पशुपति उद्योगको करीब ४६ लाख रुपैयाँ बराबरको खाने तेल ढुवानीका लागि गएको ट्रक एक सातापछि बेवारिसे अवस्थामा फेला परेको छ । 

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको बालिङ्गको लागि खाने तेल बोकेर हिँडेको ट्रक बाटोबाटै गायब भएपछि प्रहरीले धनुषाको ढल्केबरबाट मंगलबार बेवारिसे अवस्थामा फेला पारेको हो । 

केही कार्टुन तेलसहित ट्रक बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीका अनुसार स्याङजातर्फ जाँदा ट्रकमा २२ सय कार्टुन पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल करीब ४६ लाख रुपैयाँ बराबरको थियो । तर बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल थियो । 

ट्रक चालक र सहयोगी फरार छन् । प्रहरीका अनुसार त्यही चालक वा अन्य व्यक्तिको संग्लनतामा तेल चोरी गरी बेचेको हुन सक्छन् । 

सिरहाको लहान, सुखीपुर, गोलबजारमा तेल बिक्री भएको सूचना पाएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । फेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबिन भइरहेको एसपी राजभण्डारीले बताउनुभयो । 


प्रतिक्रिया