पूर्वी नवललरासीको हुप्सेकोटमा बिजुली पुग्यो

चैत्र २, २०७८ | पूर्वी नवललरासी

पूर्वी नवललरासीको हुप्सेकोट गाउँपालिका–६ को मौलाथरमा बिजुली पुगेको छ । उज्यालो हुप्सेकोट अभियान अन्तर्गत हुप्सेकोट–६ को मौलाथरका ५ सय ७४ घरमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुर्‍याइएको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले जानकारी दिनुभयो । 

हुप्सेकोटका बाँकी ३ हजार २ सय घरमा आगामी ३ महिनाभित्र बिजुली पुर्‍याउने गरी काम अघि बढाइएको उहाँको भनाई छ । नेपाल विद्युत प्राधिकरण प्रशारण निर्देशनालयका प्रबन्धक टेक नाथ तिवारीले यो गर्मीयाममै हुप्सेकोट गाउँपालिका पूर्ण विद्युतीकरण भईसक्ने बताउनुभयो । 

संघीय सरकारको १० करोड, गण्डकी प्रदेशको साढे तीन करोड र हुप्सेकोट गाउँपालिकाको साढे २ करोड लागतमा प्रशारण लाइन निर्माण गरी हुप्सेकोटमा विद्युत पुर्‍याइएको हो । मंगलबार राति औपचारिक रुपमा बिजुली बत्ती बालेर उद्घाटन गरिएको छ ।


प्रतिक्रिया