उद्यमशीलतामा अघि बढ्दै रुपन्देहीका स्थानीय महिला
असार १६, २०८० | लुम्बिनी
आफ्नै खुट्टामा उभिएर जीवन निर्वाह गर्नुपर्छ भन्ने हुटहुटी उनले मनमा पालेकी थिइन् । कक्षा ८ मा पढ्दा खेरी नै सिलाई कटाई तथा गुडिया बनाउने तालिम पाएकी उनी संघर्ष गर्दागर्दै एक सफल उद्यमी बनेकी छन् । पाल्पाको तानसेन बजारमा २०३६ सालमा जन्मिएकी मन्जु गुरुङ हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ की बासिन्दा हुन् । उनी मन्जु हस्तकला ट्रेनिङ सेन्टरकी सञ्चालक हुन् ।
२०६४ सालमा पाल्पामै आफ्नो चिनजानको साथीसँग प्रेमविवाह गरेकी उनले माइतीघरमै तालिम पश्चात पाएको हाते मेसिनले लुगा सिलाउने गर्थिन् । उनका बुवा स्व.खड्क बहादुर गुरुङ र आमा मोहलक्ष्मीबाट गुडिया बनाउन सिकेकी मन्जुले हाल ५ जना कर्मचारीलाई रोजगार दिएकी छन् । उनका बुबा गुडियामा आर्ट गर्थे । आमा गुडिया बनाउँथिन् । तानसेन बजार घुम्न आउने पाहुनालाई आफूहरुले बनाएको गुडिया उपहार स्वरुप दिने उनीहरुको चलन थियो । त्यही देखेर मन्जुमा गुडिया बनाउन सिक्ने चाहना जागेको उनले बताइन् ।
कक्षा ११ मा पढ्दापढ्दै स्वास्थ्य बिग्रियो’, उनले भनिन्, ‘पढ्न सकिन, सीप सिक्नुपर्छ भनेर मनमा लिइरहेँ, ५ वर्षको सिकाईपछि आफैले बनाउने बिक्री गर्ने गर्दै अहिले ठूला संख्यामा गुडिया बनाउने उद्यमी बनेकी हुँ ।’ २७ वर्षको उमेरमा तानसेनकै सुबोध श्रेष्ठसँग विवाह गरेपछि उनलाई जिम्मेवारी र सपना पूरा गर्ने चाहले दोधारमा पार्यो । तर, श्रीमान बुझकारी परेकाले सुबोधकै सहयोगमा थोरै थोरै पैसा जम्मा गरेर तालिम लिएको मन्जुले बताइन् । ‘घरमा केही लुगा सिलाउँदा पैसा पाइन्थ्यो, त्यसले गुडिया बनाउने कपडा किनेर सिक्थेँ, उनले भनिन्, ‘विवाहको १ वर्षपछि बुटवल आएँ, यहाँ सिकेँ, अहिले सिकाउने, बनाउने दुबै गर्छु ।’
तिलोत्तमा आउनुअघि बुटवलमा बसेर सीप सिकेकी उनलाई तालिममा लाग्ने खर्च जुटाउन समेत हम्मे थियो । दिनभरि एक हार्डवेयरमा जागिर गर्ने श्रीमानले रातिमा टीकामा मोती भर्ने काम गरेर पैसा जुटाई आफूलाई सिकाएको उनले सुनाईन् । टिकीका पत्ता अनुसार १० देखि २० रुपैयाँसम्म कमाइन्थ्यो’, उनले भनिन्, ‘सानो डल सिक्दा ८ सय लाग्यो, ठूलो सिक्न महँगो थियो, सानो बनाउन जानेपछि त्यही बेच्दै अरु सिकेँ । सानैदेखि घरमा गुडिया बनाएको देखेकी उनले उक्त सिपलाई व्यावसायिक बनाउन थालेको ८ वर्ष पुरा भएको बताइन् ।
‘मैले पहिलो अर्डर १० पिस सानो गुडियाको पाएर काम सुरु गरेँ’, उनले भनिन्, ‘अहिले तिलोत्तमाका पसल तथा बुटवल, नवलपरासी, कपिलवस्तु, पाल्पासम्म गुडिया, ऐना स्ट्याण्ड, मोबाइल थैली, फुर्के किरिङ आदि बिक्री हुन्छ । सानोको १ सय २५ देखि सुरु भई ३ हजार ४ सय रुपैयाँसम्मका गुडिया बन्ने उनको व्यावसायिक तालिम केन्द्रमा होलसेल व्यापारीले खरिद गरी ८ हजार रुपैयाँसम्म पार्ने गरेका छन् । मन्जुले कामको चांप हुन थालेपछि ५ जना आर्थिक विपन्नता भएका महिलालाई रोजगारीमा राखेको बताइन् । ‘पहिले ७ हजार ५ सय तलब दियौं’, उनले भनिन्, ‘काम थोरै देखिएपछि पिसको हिसाबले दिन थाल्यौं ।’ अहिले उनीहरुले पिसको सानो/ठूलो गुडियाको आधारमा १० देखि ३० रुपैयाँसम्म पाउने गरेको उनले बताइन् ।
मन्जुको काममा सघाउन श्रीमान सुबोधले पनि गुडिया बनाउन सिके । घरेलु तथा साना उद्योगबाट तालिम दिन प्रशिक्षक चाहिएको खण्डमा मन्जुले नवलपरासी र पाल्पा कारागारमा रहेका कैदी महिलालाई तालिम दिन पाएकी थिइन् भने सुबोधलाई पुरुषलाई दिन भनियो । उनले त्यतिन्जेलसम्म केही जानेकै थिएनन् । तालिम दिन्छु भन्ने हिम्मत गरेका उनले रातभरि मन्जुसँग सिक्ने दिनभरि कैदीलाई सिकाउने गरे । यसरी दम्पती नै उक्त सीप सिकाउँंदै धेरै स्थानमा पुगे । अहिले मन्जु पसलमै गुडिया बनाउन मै व्यस्त हुन्छिन् । सुबोध तालिम लिन, दिन जाने र सामान अर्डर अनुसार बजारमा पुर्याउने गर्छन् । २ सन्तानका अभिभावक उनीहरुकी छोरी कृति श्रेष्ठले पनि बिहानी कलेज पढेर आएपछि सिलाउने काम गर्छिन् । मन्जुकै काम देखेर सिकेकी उनले मन्जुलाई अर्डर बेलैमा सक्न सघाएकी छन् । मन्जु आफ्नो सीपले परिवारमै रोजगारी सृजना भएको र उद्यमी बन्न सकेकामा खुसी छिन् ।
तिलोत्तमाकै वडा नम्बर–१३, मधवलीयामा शिव शक्ति एग्रो फर्म सञ्चालनमा छ । साना ठूला गरेर ५१ वटा गाईभैंसी पालिएको फर्मममा दैनिक सवा १ सय लिटर दूध खपत हुने गरेको छ । २०७७ सालमा ९ वर्षदेखिको शिक्षण पेशा छोडेर फर्म खोल्ने निर्णय गरेकी ४० वर्षीया सरस्वती बन्जाडेलाई भैंसीको दूध दुहुने, घाँस काट्ने काम रमाइलो लागिरहेको छ । आफूले पढाउँदा नै डेरी पसल सञ्चालन गरेकी उनले अत्यधिक माग हुने समयमा नै दूध नपाउने समस्या आएपछि घरसल्लाह गरेर फर्म खोलेको बताइन् ।
श्रीमान प्रकाश र जेठानी दिदीसँग मिलेर फर्म र डेरीमा काम गरिरहेकी उनले बोर्डिङ स्कूलमा पढाएर कमाएको पैसाले छोराछोरी पढाउन समेत दुःख हुन थालेपछि अध्यापन छोडेर पशुपालन व्यावसायलाई नै अघि बढाएको बताइन् । अर्घाखाँचीमा जन्मिएकी उनले माइतीमा छँदा दुध दुहुने, घाँस काट्ने गरेकी थिइन् । ‘डेरी व्यवसाय राम्ररी चल्न थालेपछि दूध संकलनका लागि भैंसी पाल्ने सोंच आयो’, उनले भनिन्, ‘सुरुमा ५ लाखमा २ वटा भैंसी किनेर पाल्न थालेँ, त्यसकै आम्दानीबाट थप्दै जाँदा ५१ वटासम्म पुर्याइयो ।'
८० लाख रुपैयाँसम्म खर्च भइसकेको फर्ममा रहेका हरियाणा, मुर्रा जातका भैंसीलाई गर्मीयाममा निरन्तर पङ्खा चलाइदिने, दिनहुँ नुहाइदिने, बस्ने ठाउँ सफा राखिदिने, फर्ममै जडित मेसिनमा दाना पिसेर खुवाउने गर्दा दूध धेरै दिने गरेको उनी बताउँछिन् । दूध र त्यसका परिकार बेचेर मासिक १ लाख रुपैयाँसम्म कमाइ हुने गरेकोमा वार्षिक डेढ लाख रुपैयाँ भाडा बुझाउने गरेको बन्जाडेले सुनाईन् । उनीहरुले साढे दुई बिघा जमिन भाडामा लिएर फर्म तथा घाँस खेती गरेकाछन् । ८० लिटर दूध फर्मबाटै बिक्री भइरहेको र बचेको डेरीमा लाने गरेको उनी सुनाउँछिन् । ‘४ वटा मात्र गाई छन्’, उनले भनिन्, ‘पूजाआजामा गाईको दूध पनि खोज्ने भएकाले पालेर दूध बेचेका छौं, भैंसीको त सबैले पिउन, दही जमाउन लैजान्छन् ।’ डेरीमा दूधसँगै पनिर, दही, घ्यु, क्रिम पाइने उनले बताइन् ।
बिहान ४ बजे उठेर घरबाट ५० मिटरको दूरीमा रहेको फर्म पुग्ने उनले भाग लगाएर १७ वटासम्म भैँसी दुहुन्छिन् । दानापानी खुवाउने, घाँस काट्ने, सरसफाई गर्ने ६ जना कर्मचारीसँग मिलेर सबै काम गर्ने गरेकी उनी ६ बजे डेरी खोल्न पुग्छिन् । ‘दिनभरि डेरीमा व्यापार गरेर ३ बजे पुनः दूध दुहुन आइपुग्ने र दूध लिएर पसल फर्कने दिनचर्या चलिरहेको छ’, उनले भनिन्, ‘राति ११ बजेपछि मात्र सुत्न पाइन्छ ।’ श्रीमान प्रकाशले समेत पढाउने गरेकामा पेसा छोडेर यसैलाई पूर्ण समय दिने विचार गरिरहेको उनले बताइन् । ‘हामीले डेरी भएकाले फर्म चलाउने गरी खोल्यौँ’, सरस्वती बन्जाडेले भनिन, ‘राम्रो भइरहेको छ, भविष्यमा थप उन्नत जातका भैंसी पाल्ने, दूध दुहुने गरेरै बसिन्छ ।’ कक्षा १२ सम्म अध्ययन गरेकी उनले आफ्नो व्यावसायले सन्तुष्टी दिएपछि जागिर गर्ने सम्झना नआउने बताइन् । फर्म चलाएकै भएर समाजले आफूलाई चिनेकामा उनले खुसी व्यक्त गरिन् ।
पहिलो पटक ११ वर्षमा महिनावारी भएर ९ दिनसम्म गोठमा बसेकी तिलोत्तमा–१ की अन्जु थापाले कपडाको प्रयोगबाट भएको एलर्जीलाई धेरै वर्षसम्म सतायो । महिनावारी हुँंदा रगत लुगामा लाग्न नदिन उनले कपडालाई पट्याएर गुप्ताङ्गमा राख्ने र कपडा फेर्दै गर्ने बानीले मानसिक तथा शारीरिक रुपमै पीडा भोगिन् । कहिले पसलको प्याडमाथिबाट राखेर तल कपडा राखी प्रयोग गरें, उनले भनिन्, अहिले भने कपडा नै धेरै राखेर हिंडे, अति नै समस्या भरह्यो ।
चिकित्सकलाई देखाउंदा सफा कपडा प्रयोग गर्ने सल्लाह पाउने, पसलका स्यानिटरी प्याड लगाउनै नहुने व्यथाले समस्या दिएपछि साथीसंग बाट रियुजेबल प्याड बारे उनले सुनिन् । पहिलोपटक ६५ रुपैयां हालेर किनें, प्रयोग पनि गरें, उनले भनिन्, मलाई उही समस्या रहीरह्यो, झन वाफिएर गाह्रो भयो, तर निको भएन । ब्याचलर्स सकेर बैंकमा जागिर खाएकी उनले उक्त पेशा छोड्ने दिन आउला भन्ने नसोंचीकन काम गरिरहेको बताइन् । ३७ वर्षीया उनले २०६८ सालमा विवाह गरिन् । साउदी अरबमा रहेका श्रीमान प्रकाशलाई स्वास्थ्य समस्या बताई रियुजेबल प्याडबारे बुझ्न लगाएकी अन्जुले श्रीमानले पठाइदिएको प्याड प्रयोग गरेको बताइन् । उक्त पयाड रियुज हुने र त्यसको प्रयोगले आफुलाई केही समस्या नदेखिएपछि त्यही प्याड बनाउने इच्छा जागेको उनले बताइन् ।
छोरा जन्मिएपछि बैंकको जागिर गर्न सकिन, उनले भनिन्, घरमा बस्ने श्रीमानले पठाइदिएको लिंक खोलेर प्याड बनाउन सिकें । दैनिक २/३ वटा गर्दै बनाइरहंदा यसैलाई व्यावसायिक बनाउने सुर कस्दै २ वर्षसम्म विभिन्न अनलाइन, लिंक, विदेशी उत्पादनकर्तासंग समनवय गरेर उनले ५ वर्षअघि २५ लाख लगानी लगाएर ७ वटा विद्युतीय मेशिन सहित प्याड बनाउन छुट्टै हलकोठा बनाइन् । उक्त कोठामै विगत ५ वर्षदेखि अन्जु स्यानिटरी प्याड उद्योग संचालन भइरहेको उनले बताइन् । उनीकहां छिमेकी ४ अन्य महिलाले पनि काम पाएका छन् । श्रीमान प्रकाश डेढ वर्षअघि साउदीदेखि आए प्याड उद्योगमै अन्जुलाई सघाइरहेको उनले बताइन् । प्याड बनाउन थालेपछि वेबसाइट पेज बनाएर प्रचार गरिदिएका प्रकाशले त्यसकै आधारमा आएको अर्डरलाई पुरा गर्दै जांदा बजारमा अन्जु रियुजेबल प्याडको माग बढ्दै गएको थापाले बताइन् । यो उद्योग संचालन गर्नुमा घरकै आडमा गाउंले जतिले फोहोर फ्यांक्ने र त्यसमा फालिएका प्याड र डाइपर घरसम्मै आउने दृश्यले समेत आफुलाई यो उत्पादनमा बल पुगेको उनको भनाई छ ।
हाल बटरफ्लाई, फ्लावर, नाइट, डे पयाड तथा इनर लाइनर उत्पादन भरहेको उनको उत्पादन देशैभरि विक्रि भइरहेको उनले बताइन् । उत्पादन गर्दै बेच्नु बाहेक विभिन्न पालीका, आमा समुह, स्वास्थ्य संस्था,ले प्रशिक्षण समेत दिन बोलाउने गर्दा काठमाडौं, हेटौंडा, गोर्खा सम्म तालिम दिन पुगेको उनले जनाइन् । व्यावसायिक हिसाबले अघि नबढेपनि दिदीबहिनीले आफ्नो प्रयोगको लागि बनाएर प्रयोग गरिरहेको पाएकी छु, उनले भनिन्, कचचा पदार्थ ल्याउन, फिनिसिङ दिएर बनाउन दिमागले ध्यान पुर्याउनैपर्छ । उनीकहां बंगलादेश, चीन र भारतबाट कपडा अइपुग्छ । पडाको मात्र बनने रियुजेबल प्याडलाई अब भने ब्रान्डिङ गरी फार्मेसी, पसल तथा बजारमा प्याकेजिङ मार्फत पुर्याउने उद्धेश्यले उनले प्याकेजिङ डिजाइन तयार गरी स्याम्पल चेक गरिरहेको बताइन् । २ सय देखि ६ सय सम्म सेटमा तीन पिसका दरले पाइने प्याड प्रयोगकर्ताले राम्रो फिडब्याक दिने गरेको उनले बताइन् । अन्जु मार्फत गैरसरकारी संस्थाले वितरण का लागि खरिद गरिरहेको प्याड अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन लागिपर्ने उनले बताइन् । वातावरणयुक्त , पुन: प्रयोग गर्न मिल्ने प्याडले स्वास्थ्यलाई असर नगर्ने भएकाले यसको प्रयोग गर्न सुझाउंदै गाउंगाउंमा आफू पुग्ने उनले बताइन् ।
आफुले सिप सिकेर होस् वा व्यावसायिक बन्ने बाटोमा अघि बढ्न खोजिरहेका यी र यीजस्तै थुप्रै उद्यमी महिलालाई दायित्व नामक संस्थाले तालिम, व्यावसाय अघि बढाउने सहयोगी बजेट तथा गुणस्तरयुक्त वातावरणका लागि अनुगमन सहितको प्रशिक्षण प्रदान गरिरहेको छ । तिलोत्तमा नगरपालीकासंग समन्वय गरी उक्त संस्थाले हरेक वर्ष यहांका उद्यमी पुरुष तथा महिलालाई प्रोत्साहन गर्दै फारम नै खोलेर उद्यमशिलतामा अघि बढ्न सघाइरहेको दायित्वका कार्यक्रम प्रबन्धक कमल थापाले बताए । आफूहरुले १० वर्षअघिदेखि नै यस्ता कार्यम गरिरहेपनि २०७६/७७ मा स्थानिय तह निर्माण भएपछि भने उनीहरुसंगकै समन्वयमा अघि बढिरहेको उनले बताए ।
'हामी दीगो उद्यम विकासको कल्पना बोकेर अघि बढेका छौं, उनले भने, हामीले मात्र हुंदैन, सरकार अनिवार्य संलग्न हुनुपर्छ भनेर सरकारसंगको साझेदारीमै गरिन्छ । फारम मार्फत आएका आवेदनमध्ये विभिन्न विधा छानेर पहिलो चरणमा २० जना छान्छौं, उनले भने, उनीहरुलाई तालिम दिई ५/ ५ हजारले उद्यमको लगानी बढाउन भनिन्छ, त्यसपश्चात पुन: अनुगमन बाट १० जना छनोट गरेर लामो समयसम्म तालिम दिई, अन्तिममा प्रस्तुतीकरण व्यावसायिक विकास हेरी १ जनालाई १ लाख उद्यम पुरस्कार दिइन्छ । हालसम्म रामेछाप, गुल्मी, पाल्पा, बाग्लुङ, तिलोत्तमा मा कार्यक्रम भइसकेको र यसलाई निरन्तरता दिइरहेको उनले बताए । यसका लागि ३० लाख सम्मको बजेट चाहीने उनले बताए । त्यसमा ३० प्रतिशत दायित्वको हुन्छ भने अन्य स्थानिय सरकार वा सरकारको कुनै अंगले आफ्नै स्थानिय उद्यमीका लागि खर्च गर्ने गर्छ । यसबाट नेतृत्व, नव प्रवर्दन तथा उद्यमशिलतामा आयाम थप्न आफुहरुले ९ महिनासम्म तालिम अनुगमन सहितको प्रतिफलयुक्त कार्यक्रम गरिरहेको उनको भनाई छ ।