नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

कार्तिक ३०, २०८० | काठमाडौं

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८७ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा बैकिङ्ग प्रणालीको शुरुवात र विकासको हिसाबले यो बैंक आजको बैकिङ्ग क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ । 

नेपाल बैंक १९९४ साल कार्तिक ३० गते स्थापना भएको थियो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताले सुरु गरेको यस बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । 

नेपाल बैंकले आफ्नो स्थापना कालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सम्म देशको केन्द्रीय बैंकको रुपमा समेत कार्य गरी नेपालको बैंकिङ्ग क्षेत्रको अभिभावकीय भूमिका निर्बाह गरिसकेको छ ।

प्रविधिले ठूलो फड्को मारेको हालको विश्व वित्तीय बजारमा समयानुकूल नेपाल बैंकले अन्तर्राष्ट्रिय असल अभ्यास सहितको प्रविधिमैत्री बैकिङ्गलाई आत्मसात गरी जनतालाई सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवद्र्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ । 

नेपालमा बैंकिङ्ग साक्षरताको माध्यमबाट देशको कुनाकाप्चासम्म पुगेर बचत गर्ने संस्कृतिको विकास एवम् अनौपचारिक क्षेत्रबाट मात्र भईरहेको आर्थिक कारोवारलाई बैंकिङ्ग प्रणाली मार्फत व्यवस्थित गरी देशको आर्थिक विकासलाई प्रवद्र्धन गर्न यो बैंकको अग्रणी भूमिका रहेको छ ।

यो बैंकले हाल ७१ जिल्लामा गरी २ सय २८ शाखा मार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ ।

बैंकका सबै वित्तीय सूचक स्वस्थ र सन्तुलित देखिन्छन् भने हरेक वर्ष ती सूचकमा उल्लेख्य प्रगति भइरहेको छ । विगतमा ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । 

गत असार मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड रुपैयाँ भन्दा बढी नेटवर्थ रहेको छ । 

बैंकले आर्थिक वर्ष २०७६/७७ देखि आफ्ना शेयर धनीलाई नियमित रुपमा बोनस तथा नगद लाभांश प्रदान गर्दै आईरहेको छ । निक्षेप, कर्जा, तरलता तथा पूँजी पर्याप्तता लगायत बैंकका अधिकांश परिसूचक सबल रहेका छन् । बैंकका अधिकांश कारोबारहरु डिजिटल माध्यम मार्फत सञ्चालन भईरहेको जनाएको छ ।


प्रतिक्रिया