निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड निकासा

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०८२ | काठमाडौं

अर्थ मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि आजसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । 

आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका लागि आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका लागि सो बजेट निकासा गरिएको हो । 

उल्लिखित बजेटमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयका लागि १ अर्ब ९९ करोड र निर्वाचन आयोगका लागि ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्ड्येले जानकारी दिनुभयो । 

यसअघि आयोगले आसन्न निर्वाचनका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यसमध्ये हालसम्म अर्थ मन्त्रालयले सवा १९ अर्ब रुपैयाँ निकासा गरिदिएको हो । 

यसअघि आर्थिक वर्ष २०७९÷८० मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ बजेट निकासा गरिएको थियो । 


प्रतिक्रिया