‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सम्पन्न, ६० हजारद्वारा अवलोकन
पुस १५, २०८२ | काठमाडौं
काठमाडौं । काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ । यहि पुस १२ गते शनिबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फेस्टमा ६० हजार बढी दर्शकले अवलोकन गरेका छन् । फेस्टको अन्तरीम सरकारका मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका थिए । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा रहेको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’मा १ सय ५० बढी स्टलहरु राखिएको थियो ।
घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ आयोजना गरिएको फेस्टमा आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिएको छ । फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर (ह्वाइट रूम), आर्किड भिल्ला, तथा डोम हाउस जस्ता नवीन आवासीय मोडलहरू प्रदर्शनीमा राखिएको थियो ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापना गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधनका लागि फेस्टले मद्दत पु¥याएको घर निर्माण फाउन्डेसनले जनाएको छ ।
प्रदर्शनीमा विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गसम्म पु¥याउन सफल भएको आयोजक घर निर्माण फाउन्डेसनका निर्देशक सफल प्रधानले जानकारी दिए । ‘यसपटकको फेस्टमा विभिन्न व्यवसायिले गरि साढे ३ सय करोड रूपैयाँ बढीको कारोबार गरेका छन्, उनले भने, ‘अधिकांश व्यवसायिले विशेष छुटको योजना अनुसार आफ्ना सामाग्री विक्रि गरेका हुन् ।’ प्रदर्शनीमो विश्व कीर्तिमानी इँटाको पनि प्रदर्शन गरिएको थियो । यस्तै जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी समेत प्रदर्शन गरिएको थियो ।
युवा पुस्तालाई समेत सहभागिता गरिएको फेस्टमा विभिन्न इन्जिनियरिङ कलेका विद्यार्थीले तयार पारेको ३७ वटा घरका मोडेल समेत प्रदर्शनीमा राखिएको थियो । सो मोडेल प्रर्दशनीमा कान्तिपुर इन्टरनेशनल कलेज विजेता बनेको छ भने थापाथली क्याम्पस दोस्रो र ख्वप कलेज तेस्रो भएका छन् । मोडेल कम्पिटिसन मार्फत विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवप्रवर्तन तथा प्राविधिक क्षमता प्रदर्शन गराउनका लागि अवसर प्रदान गरिएको थियो । यस्तै स्किल सेवाले पनि घर बनाउन चाहाने अवलोकनकर्तालाई लक्षित गर्दै घर निर्माण सम्बन्धी कक्षा समेत सञ्चालन गरेको थियो । निशुल्क रुपमा सञ्चालन गरिएको सो कक्षमा १५ सय बढीले प्रत्यक्ष रुपमा जानकारी लिएको स्किल सेवाका सिईओ रमेश तिमिल्सिनाले जानकारी दिए । फेस्टको मुख्य आकर्षका रुपमा रहेको डोम हाउसमा समेत दर्शको उल्लेख्य उपस्थिति थियो ।









