लिबियाका प्रधानमन्त्रद्वारा सहयोगको लागि अपिल

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | बीबीसी

सरकार विरोधी समूह राजधानी त्रिपोलीतर्फ अघि बढिरहँदा समेत अन्तर्राष्ट्रिय समुदाय मौन बसेको भन्दै लिबियाका प्रधानमन्त्री फैज अल सिराजले असन्तुष्टि व्यक्त गर्नुभएको छ । सहयोगका लागि गम्भीर बन्न उहाँको आग्रह छ ।

पूर्वी क्षेत्रका कमाण्डर जेन खालिफा हफ्तार नेतृत्वको सरकार विरोधी समूहले त्रास निम्त्याएकाले सहयोग गर्न प्रधानमन्त्री सिराजले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । हिंसात्मक गतिविधिका कारण अप्रिलयता २ सय ५ जनाको मृत्यु भएको राष्ट्रसंघको भनाई छ ।

मुलुकमा हिंसात्मक गतिविधि चर्किएको र सर्वसाधारणले एक्लिएको महसुस गर्न थालेको भन्दै प्रधानमन्त्री सिराजले आफ्नो मुलुकको अवस्थाप्रति गम्भीर बनिदिन अपिल गर्नुभएको हो । ईश्लामिक स्टेट आईएसको जोखिमका कारण अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफ्नो सरकारले शान्ति र स्थायित्व कायम गर्न नसकेको उहाँको भनाई छ ।

मुलुकको स्थितिप्रति अन्तर्राष्ट्रिय समुदाय मौन बस्दा सर्वसाधारण थकित बनेको उहाँको भनाई छ । सन् २०११ मा शासक मोहम्मद गद्दाफीको हत्यापछि लिवियामा हिंसात्मक गतिविधि र राजनीतिक अस्थिरता छ । 


प्रतिक्रिया