दुर्गम केन्द्रित अध्यागमन नियम बनाउँदै अस्ट्रेलिया

भाद्र २७, २०७६ | अस्ट्रेलिया

अस्ट्रेलियाले कामदार अभावपूर्तिका लागि दुर्गम क्षेत्रलाई ध्यानमा राखेर आफ्नो अध्यागमन नियमलाई परिवर्तन गर्ने तयारी गरेको छ । अस्ट्रेलियाको रोजगार तथा सीप मन्त्री मिकइला क्यासले अहिले जारी रहेको दक्ष कामदार सूचीलाई समीक्षा गरिने बताउनुभयो । 

अस्ट्रेलिया सरकारले हरेक बर्ष विदेशी दक्ष कामदारलाई अस्ट्रेलिया भित्र्याउने योजनाका साथ बिभिन्न कामहरुको सूची सार्वजनिक गर्दै आएको छ । अहिले सूचीमा रहेका करिब ५ सय त्यस्ता कामहरुले यहाँ रहेको कामदारको अभाव सम्पुर्ण रुपमा पूरा गर्न नसकेकाले यसलाई परिमार्जन गरेर दुर्गम क्षेत्रमा कामदारहरुलाई प्रोत्साहन गर्नेगरि नियम ल्याउन लागिएको समाचारमाध्यमहरुले जनाएका छन् ।

दक्ष कामदारहरुको आवश्यक्ता कुन कामको सुचीले पूरा गर्नसक्छ सोही अनुसार परिमार्जन गरिने तयारी गरिएको हो । सरकारले यहीबर्षको मार्चमा सो सूची परिमार्जन गरेको भएपनि सबै कामहरुले यहाँको कामदार आवश्यक्ता पूर्ती गर्न नसकेको गुनासो बढेपछि यसलाई समीक्षा गरेर परिमार्जन गर्न लागिएको समाचारहरुमा जनाइएको छ । 

मन्त्री क्यासले भन्नुभयो, ‘दक्ष कामदारहरु अस्ट्रेलियाको बिकासको अंग हुदै आएको भएपनि हामीले सही र आवश्यक दक्ष कामदारहरु भित्र्याएर यहाँको अभाव पूर्ती गर्नुपर्छ ।’ अस्ट्रेलियाले पछिल्लो समयमा दुर्गम क्षेत्रमा भइरहेको कामदार अभावलाई पुर्ती गर्न र शहरमा बढिरहेको भीड कम गर्नका लागि दुर्गम केन्द्रित अध्यागमन नीति ल्याइरहेको छ । सरकारले शहरहरुमा जनसंख्या बढ्दै गएपछि भीड कम गर्ने नीति अनुरुप मुख्य शहरहरु बाहेक दुर्गम क्षेत्रमा बसोबास गर्नेहरुका लागि नयाँ कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । अष्ट्रेलियाको अध्यागमन बिज्ञ संजिव पाण्डेका अनुसार यो अध्यागमन नीति परिवर्तन गर्नेभन्दा पनि सकेसम्म दुर्गममा रहेको कामदार अभावलाई परिपुर्ती गर्ने र शहरमा बढिरहेको भीडलाई कम गर्नका लागि सुचीमा रहेका कामहरुको समिक्षा गर्न लागिएको हो ।

सरकारले सम्बन्धित क्षेत्रका सरोकारवालाहरुसँग यसबारेमा छलफल जारी राखेको र अबको केही महिनाभित्रमा यो सुचीलाई अद्यावधिक गरिने समाचारमाध्यमहरुले जनाएका छन् । कमिटी फर इकोनोमिक डेभेलोपमेन्ट अफ अस्ट्रेलियाका मुख्य अर्थशास्त्री जारड बलले पछिल्लो समयमा श्रम बजारमा धेरै परिवर्तन आइसकेको र पहिल्यैदेखि रहेको सुचीबाट आवश्यक दक्ष कामदार भित्र्याउन सहज नरहेको बताएका छन् । 

अस्ट्रेलियाले हरेक बर्ष १ लाख ९० हजार आप्रवासीहरुलाई अस्ट्रेलिया भित्र्याउने गरेको भएपनि यो संख्यालाई घटाएर यसबर्षदेखि १ लाख ६० हजार बनाएको छ । केही समयअघि मात्र दुर्गम क्षेत्रमा काम गर्नका लागि कामदार भित्र्याउने उद्देश्यले थप १३ देशका नागरिकहरुलाई भिषा प्रक्रियामा समेट्ने घोषणा गरिसकेको छ ।

अध्यागमनमन्त्री डेभिड कोलम्यानले भारत, फिजी, फिलिपिन्स, ब्राजिल लगायतका देशका नागरिकहरुलाई छोटो समयका लागि दिईने ‘वर्किङ होलिडे भिषा’ प्रक्रियामा समावेश गराइने बताएका थिए । ३ महिनादेखि एक बर्षसम्मको काम गर्न पाइने यस भिषामा दुर्गम क्षेत्रमा गएर काम गर्नुपर्ने लगायतका प्रावधानहरु राखिएको छ । यस भिषा प्रक्रियामा नेपाललाई समेत समेट्नका लागि प्रयास भइरहेको अस्ट्रेलियास्थित नेपाली दुतावासले जनाएको छ ।

 


प्रतिक्रिया