नयाँ कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ : चीन

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७६ | एजेन्सी

कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको चीन सरकारले दाबी गरेको छ । चीनभर हिजो १ हजार ९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमण पहिचानको नयाँ मापदण्ड लागू भएपछिको यो सबैभन्दा न्यनू हो । 

यसअघि नयाँ मापदण्ड लागू गरिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको थियो । कोरोना संक्रमण फैलने क्रम रोक्न अपनाइएको विधिले प्रभाव देखाउन थालेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रबक्ता मि फेङले बताउनुभयो । उहाँका अनुसार संक्रमण अब नियन्त्रणउन्मुख छ । यस्तै चीनभर हिजो १ सय ४२ जनाको मृत्यु भएको छ । 

चीनभर हालसम्म संक्रमितको संख्या ६८ हजार नाघेको छ भने १ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ । चीनबाहिर ३० मुलुकमा गरी ५ सय बढी संक्रमित भएका छन् । फ्रान्स, हङकङ, फिलिपिन्स र जपानमा समेत गरी ४ जनाको मृत्यु भएको छ ।

यसैबीच, जापानमा निगरानीमा राखिएको डाइमण्ड प्रिन्सेस नामक क्रुज जहाजमा रहेकामध्ये थप ७० जनामा संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या ३ सय ५५ पुगेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया