कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न मुलुकमा उच्च सतर्कता

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १५, २०७६ | एजेन्सी

कोरोना भाइरसको संक्रमण फैलदै गएपछि विभिन्न मुलुकहरुले उच्च सतर्कता अपनाउन थालेका छन् । साउदी अरबले कोरोना प्रभावित देशका नागरिकहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

 विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि साउदी अरबले धार्मिक पर्यटकसहित विभिन्न देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको हो । यसबाट आगामी जुलाईमा पर्ने पवित्र रमदान पर्वमा हजका लागि मक्का मदिना पुग्ने मुस्लिम धर्मावलम्वी समेत प्रभावित हुनसक्ने अनुमान गरिएको छ । 

अष्ट्रेलियाले चीनबाट जाने पर्यटकमाथिको प्रतिबन्ध थप लम्ब्याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले संक्रमण फैलन नदिन आकस्मिक योजना लागू गर्ने बताउनुभयो । यो योजनाअन्तर्गत औषधी उपचारको पर्याप्त व्यवस्थाका साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाउने तयारी त्यहाँको सरकारको छ । अष्ट्रेलियामा हालसम्म २३ जनामा संक्रमण पुष्टी भएको छ । 

यस्तै, ताइवानले महामारी रेस्पोन्स टोलीलाई उच्च सतर्कतामा राखेको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास स्थगित गरेका छन् ।

विश्वभर हालसम्म कोरोनाबाट ८० हजार जना संक्रमित भएका छन् भने ४० मुलुकमा संक्रमण फैलिएको छ । 

दक्षिण कोरियामा आज मात्र ५ सय ५ जना नयाँ संक्रमित फेला परेका छन् । योसंगै संक्रमितको संख्या १ हजार ७ सय ६६ पुगेको छ । हङकङमा संक्रमितको संख्या ९२ पुगेको छ ।

 इटलीमा एक दिनमै संक्रमितको संख्या २५ प्रतिशतले बढेर ४ सय पुगेको छ । रोमानियामा पहिलोपटक संक्रमण फेला परेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया