कोरोनाविरुद्ध आक्रामक उपाय अपनाउन दक्षिण पूर्वी एसियालाई डब्लुएचओको आग्रह

रेडियो कान्तिपुर संवाददाता

चैत्र ५, २०७६ | एजेन्सी

विश्व स्वस्थ्य संगठन डब्लुएचओले दक्षिण पूर्वी एसियाली मुलुकहरुलाई कोरोना संक्रमणविरुद्ध थप आक्रामक उपाय अपनाउन आग्रह गरेको छ । ईयूले आफ्ना सीमा नाका बन्द गर्ने निर्णय गरेपछि अब दक्षिण एसियामा थप सावधानी अपनाउनु आवश्यक रहेको डब्लुएचओले जनाएको छ । 

आवश्यक सावधानीको अभावमा दक्षिण पूर्वमा संक्रमण फैलने क्रम तीब्र रहेको डब्लुएचओले जनाएको छ । पछिल्लो समय मलेसियामा संक्रमितको संख्या ह्वात्तै बढेर ६ सय ७३ पुगेको छ । मलेसियाले सिंगापुरसंगको सीमा बन्द गरेको छ । 

युरोपेली युनियन ईयूले ब्लक बाहिरका सबै यात्रुमाथि प्रतिबन्ध लगाएको छ । आगामी ३० दिनसम्म कुनै पनि स्थानबाट युरोप प्रवेश गर्न चाहनेलाई प्रतिबन्ध लगाउने निर्णय ईयूले गरेको हो ।

अहिले सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमणबाट थप ३ सय ४५ जनाको मृत्यु भएको छ । इरानमा पनि एकै दिन १ सय ४७ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ३५ पुगेको छ । १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टी भइसकेको छ । 

अमेरिकाका सबै ५० वटै राज्यमा संक्रमण फैलिएको छ । अमेरिका र क्यानडाले सीमा नाका आंशिक रुपमा बन्द गर्ने तयारी गरेका छन् । अमेरिकाले कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन जनतालाई १ खर्ब डलर दिने घोषणा गरेको छ । 

कोलम्बियाले ज्येष्ठ नागरिकहरुलाई समुहमा घरमै आईसोलेशनमा राख्ने भएको छ । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसले मानव जैविक सुरक्षा आपतकाल घोषणा गर्दै शहर तथा क्षेत्र बन्द गर्ने, कर्फ्यू आदेश जारी गर्ने तथा क्वारेन्टाईनमा राख्ने अधिकार प्रान्तीय तथा क्षेत्रीय सरकारहरुलाई हस्तान्तरण गर्नुभएको छ । साथै भ्रमणहरु बन्द गर्न आफ्ना नागरिकलाई उहाँले आग्रह समेत गर्नुभएको छ । अष्ट्रेलियामा हालसम्म ४ सय २५ जना संक्रमित फेला परेका छन्, ५ जनाको मृत्यु भएको छ । 

दक्षिण कोरियामा ९३ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ हजार ४ सय १३ पुगेको छ । चीनमा १३ जना नयाँ संक्रमित फेला परेका छन् । थप ११ जनाको मृत्यु भएको छ ।

हालसम्म १ सय ५९ मुलुकमा फैलिएको कोरोना संक्रमणबाट ७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । १ लाख ८४ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टी भएको डब्लुएचओले उल्लेख गरेको छ । 


प्रतिक्रिया