कोरोनाबाट मत्यु हुने १३ हजार नाघे

रेडियो कान्तिपुर संवाददाता

चैत्र ९, २०७६ | एजेन्सी

विश्व महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन क्रम थप तीब्र बनेको छ । हालसम्म ३ लाख ७ हजार २ सय ८० जनामा संक्रमण पुष्टी भएको छ । १३ हजार बढीको मृत्यु भएको छ भने संक्रमितमध्ये ९२ हजार ३ सय ८२ जना निको भएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो पटक सबैभन्दा बढी प्रभावित इटलीमा मात्रै संक्रमितको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ । त्यहाँ ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये लोम्बार्डीका मात्रै ३ हजार ९५ जना छन् । इटलीमा हिजो एकै दिन करिब ८ सयको मृत्यु भयो ।

संक्रमित र मृत्यु हुनेको संख्या उल्लेख्य रुपमा बढ्दै गएपछि लोम्बार्डीमा सुरक्षाको थप कडा उपायहरु अवलम्बन गरिएको छ । घरबाहिर हिँडडुल गर्ने, एटिएम जस्ता भेन्डिङ मसिन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । खुला स्थानमा हुने खाद्यान्न लगायतका बस्तुको बजार बन्द गरिएका छन् । सरकारले अत्यावश्यक बस्तु घरमै उपलब्ध गराउने ब्यवस्था गरेको हो ।

तेश्रो बढी प्रभावित मुलुक अमेरिकामा २६ हजार ७ सय ४७ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, स्पेनमा २५ हजार ४ सय ९६, जर्मनीमा २२ हजार ३ सय ६४, इरानमा २० हजार ६ सय १०, फ्रान्समा १४ हजार ४ सय ८५ र दक्षिण कोरियामा ८ हजार ८ सय बढी संक्रमित छन् ।

संक्रमण शुरु भएको चीनमा कुल संक्रमित ८१ हजार ३ सय ४८ छन् भने ३ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ । लामो समयको प्रयासपछि संक्रमण नियन्त्रणमा ल्याएको चीनमा पछिल्लो समय विदेशबाट आउनेहरुले संक्रमण बढाउन थालेको त्यहाँको स्वास्थ कमिसनले जनाएको छ । 

३ दिनसम्म नयाँ संक्रमित नभेटिएको चीनमा आज मात्रै ४६ जनामा पुष्टी भएको छ । चीनमा कोभिड १९ को संक्रमण दर घटेपछि विदेशमा रहेका नागरिक फर्कने क्रम बढ्न थालेसंगै नयाँ संक्रमण देखिएको हो । 


प्रतिक्रिया