कोभिड १९ बाट साढे ३ लाख बढी संक्रमित

रेडियो कान्तिपुर संवाददाता

चैत्र १०, २०७६ | एजेन्सी

कोभिड १९ भाइरसको संक्रमण विश्वका १ सय ८७ मुलुकमा फैलिएसँगै ३ लाख ५० हजार ५ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ । १५ हजार ३ सय ८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ लाख बढी पूर्ण रुपमा निको भएका छन् ।

संक्रमणकै कारण ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाएपछि इटलीले सबैखाले आन्तरिक यात्रामा प्रतिवन्ध लगाएको छ । इटलीमा हालसम्म ५९ हजार १ सय ३८ जनामा संक्रमण पुष्टी भएको छ । युरोपमा इटलीपछि दोस्रो बढी प्रभावित स्पेनमा ३३ हजार बढीमा संक्रमण पुष्टी भएको छ, २ हजार १ सय ८२ जनाको मृत्यु भएको छ । 

योसँगै स्पेनले आपतकालीन अवस्थालाई आगामी अप्रील ११ सम्म लम्ब्याउने भएको छ । जर्मनीमा २२ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये ८६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७१ पुगेको छ भने ३५ हजार २ सय बढीमा संक्रमण पुष्टी भएको छ । इरानमा २३ हजार बढी संक्रमित छन् भने १ हजार ८ सय १२ जनाले ज्यान गुमाएका छन् । फिलिपिन्समा आज थप ८२ जनामा संक्रमण पुष्टी भएसंगै कुल संक्रमितको संख्या ४ सय ६२ पुगेको छ । संक्रमणका कारण फिलिपिन्समा ३ जना चिकित्सकको समेत ज्यान गएको छ ।

न्युजिल्याण्डमा १ सय २ जनामा संक्रमण फैलिएसँगै भोली देखी सम्पूर्ण विद्यालय बन्द गरिने भएको छ । अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ । ४६ जनामा संक्रमण पुष्टी भएपछि पच्चिस लाख जनसंख्या रहेको राजधानी तासकेन्ट भोली देखी बन्द गर्ने उज्बेकिस्तानले घोषणा गरेको छ । कोभिड १९ को उदगम थलो चीनमा ३९ जना नयाँ संक्रमित फेला परेका छन् । इन्डोनेसियामा ५ सय ७९ जना संक्रमित हुँदा ४९ जनाको ज्यान गएको छ । बेलायतले संक्रमितको उपचारका लागि १२ हजार वटा भेन्टिलेटरको व्यवस्था गरेको छ । संक्रमण भित्रन सक्ने भन्दै हङकङले आगामी बुधवार देखी कुनै पनि विदेशी नागरिकलाई प्रवेश नदिने भएको छ । दक्षिण पूर्वी युरोपमा पर्ने मोन्टेनेग्रोमा संक्रमणबाट पहिलोपटक एक जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ८ हजार ९ सय ६१ संक्रमित मध्ये ३ हजार १ सय ६६ जनाको पूर्ण रुपमा निको भएका छन् । एक सय ११ जनाको ज्यान भएको छ ।

संक्रमण बढ्दै गएपछि संयुक्त अरब इमिरेट्सले सम्र्पूण उडान २ साताका लागि स्थगित गरेको छ । साउदी अरबले संक्रमण फैलन नदिन कर्फयु लगाएको छ । भारतले सबै आन्तरिक उडानहरु समेत रद्ध गरेको छ । विश्वकै दोस्रो ठुलो जनसंख्या भएको सो मुलुकका ८० वटा जिल्ला बन्द गरिएको छ । टर्कीस एयरलाईन्सले पनि सबै अन्तर्राष्ट्रिय उडान आगामी अप्रिल १७ सम्मका लागि रद्ध गरेको छ । सिंगापुर एयरलाइन्सले ९६ प्रतिशत उडान कटौती गरेको छ ।


प्रतिक्रिया