भारतद्धारा भेन्टिलेटर र स्यानिटाइजर निर्यातमा रोक

चैत्र ११, २०७६ | नयाँ दिल्ली

भारतले भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा पूर्णरुपमा बन्देज लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आज सबै किसिमका अत्यावश्यक भेन्टिलेटर र स्यानिटाइजरको निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोनाको प्रकोपपछि भारतमा यी अत्यावश्यक सामग्रीको माग बढ्दै गएको थियो । यसैबीच भारतीय राष्ट्रिय कांग्रेस लगायतका विपक्षी दलहरुले अत्यावश्वक स्वास्थ्य सामग्रीको निर्यातमा रोक लगाउन माग गर्दै आएका थिए । 

उनीहरुले देशभित्रै यी सामग्रीहरुको अभाव भएको हुँदा निर्यात खुला राखेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । निर्यात खुला रहेकोमा सर्वत्र आलोचना भएपछि भारत सरकारले पछिल्लो निर्णय लिएको हो । 

भारतमा आजसम्म पाँचसयभन्दा बढीमा कोरोना भाइरस पुष्टि भएको छ भने दश जनाको मृत्यु भइसकेको छ । 

भारत सरकारको पछिल्लो निर्णयले यी बस्तुको नेपालतर्फ हुने निर्यातमा रोकिने हो भन्ने आशंका उत्पन्न भएको छ । 

जबकि, केही दिनअघि मात्र नेपाल सरकारले काठमाडौंस्थित भारतीय दूतावासमार्फत स्यानीटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेको थियो । ती सामग्रीहरु अझै नेपाल पुगिसकेको छैन ।

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले कान्तिपुरसँग भारतको निर्यातमा रोक लगाउने पछिल्लो निर्णय नेपालको हकमा लागू नहुने विश्वास व्यक्त गरे । ‘नेपाल सरकारले भारतसमक्ष स्यानाइटाजरलगायतका अत्यावश्यक सामग्रीका लागि अनुरोध गरिसकेको छ र त्यसलाई भारतले पनि स्वीकार गरिसकेको अवस्थामा पछिल्लो निर्णय नेपालका लागि लागू हुँदैन भन्ने विश्वास छ’ रेग्मीले कान्तिपुरसँग भने । 


प्रतिक्रिया