भारत ३ साताका लागि लकडाउन, संक्रमणको अर्को केन्द्रविन्दु अमेरिका बन्नसक्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र ११, २०७६ | काठमाडौं

कोरोना संक्रमित बढ्दै गएपछि भारतले तीन साताका लागि लकडाउन गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदले राष्ट्रका नाममा सम्बोधन गर्दै मुलुकलाई बचाउनका लागि आज रातीबाट लागू हुने गरि लकडाउनको घोषणा गर्नुभएको हो । संकटको समयमा संयमता अपनाउदै सरकारको निर्णय पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । यसअघि बेलायत र क्युबाले पनि लकडाउन घोषणा गरेका थिए ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९५ हजार ६ सय ४७ पुगेको छ । जसमध्ये १७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ३ सय १७ जना पूर्ण रुपमा निको भएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो समय सबैभन्दा बढी प्रभावित इटलीमा ६३ हजार ९ सय २७ जनामा संक्रमण पुष्टी भइसकेको छ । ६ हजार ७७ जनाको मृत्यु भएको छ । अमेरिकामा ४६ हजार ४ सय ५० जना संक्रमित भएका छन् । स्पेनमा ३५ हजार १ सय ३६ जनामा संक्रमण पुष्टी भएकोमा २ हजार ३ सय ११ जनाले ज्यान गुमाइसकेका छन् । जर्मनीमा २९ हजार ५६ जना संक्रमित छन् भने १ सय २३ जनाको मृत्यु इसकेको छ । 

यस्तै, इरानमा २३ हजार ४९ जनामा संक्रमण पुष्टी भएको छ । तीमध्ये १ हजार ८ सय १२ जनाको मृत्यु भएको छ । फ्रान्समा २० हजार १ सय २८ जना संक्रमित फेला परेका छन् भने ८ सय ६० जनाको मृत्यु भएको छ । म्यानमार र लाओसमा पहिलोपटक संक्रमण फेला परेको छ ।

कोरोना संक्रमण कम हुँदै गएपछि चीनले हुवेई प्रान्तमा लगाएको यात्रा प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको छ । तर बाहिरबाट पुग्ने नागरिकले पुन: संक्रमण फैलाउन थालेपछि क्वारेन्टाईन व्यवस्थालाई चीनले कडा पारेको छ ।

संक्रमण न्यूनीकरणका लागि भन्दै मकाउले भने मुख्यभूमी चीन, हङकङ र ताइवानका यात्रुमाथि प्रतिबन्ध लगाएको छ । थाईल्याण्डले पर्सी विहीबारबाट लागू हुने गरी आपतकाल घोषणा गरेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन डब्लुएचओले अमेरिका महामारीको अर्को केन्द्रविन्दु बन्न सक्ने चेतावनी दिएको छ । अमेरिकामा संक्रमण फैलने क्रम तीब्र रहेको भन्द्यै डब्लुएचओका प्रबक्ता मार्गरेट ह्यारिसले यस्तो चेतावनी दिनुभएको हो । 


प्रतिक्रिया