बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना संक्रमण पुष्टी

चैत्र १४, २०७६

– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बेलायती प्रधानमन्त्रीको सरकारी कार्यालय डाउनीङ स्ट्रिटले जोनसनलाई संक्रमण भएको पुष्टी गरेको हो । बेलायती स्वास्थ्य प्रमुख प्राध्यापक क्रिस ह्वीटीको आग्रहमा प्रधानमन्त्री जोनसनको कोरोना भाइरस संक्रमणको नमुना परीक्षण पश्चात नतिजा पोजेटिभ देखिएको बीबीसीले जनाएको छ । आफूलाई कोरोना संक्रमण देखिएकाले सेल्फ आइसोलेसनमा बसेको र सरकारी कामलाई निरन्तरता दिइरहेको भन्दै प्रधानमन्त्री जोनसनले ट्वीट गर्नु भएको छ । बेलायतमा हालसम्म ११ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ५ सय ७८ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

विश्वका करिव साढे ५ लाख मानिसमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये करिव १ लाख ३० हजार पुर्ण रुपमा निको भएर घर फर्किएका छन् । हालसम्म २४ हजार ८ सय ७२ जनाको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको छ । पछिल्लो समय सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा ८५ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण पुष्टी भइसकेको छ । त्यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रण उन्मुख बनेको चीनमा संक्रमितको संख्या ८१ हजार ३ सय ४० छ । इटलीमा ८० हजार ५ सय ८९ जना संक्रमित पुष्टी भएका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म सबै भन्दा धेरै इटलीमा ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमित मध्ये १० हजार ३ सय ६१ जना पूर्ण निको भएका छन् । चीनमा ७४ हजार ५ सय ८८ पूर्ण निको भएका छन् भने ३ हजार २ सय ९२जनाले ज्यान गुमाएका छन् । अमेरिकामा भने हाल सम्म १ हजार ८ सय ६८ जना पूर्ण निको भएका छन् । १ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा संक्रमितको संख्या ६४ हजार ५९ पुगेको छ । जसमध्ये ९ हजार ३ सय ५७ पूर्ण निको भएका छन् । ४ हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा ४७ हजार २ सय ७८ संक्रमित छन् । इरानका संक्रमितको संख्या ३२ हजार ३ सय ३२ पुगेको छ । त्यस्तै, फ्रान्समा २९ हजार १ सय ५५ मा कोरोना संक्रमित पुष्टी भएको छ ।

यसैबीच तीब्र गतिमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकाले चीनको सहयोग लिने भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना नियन्त्रणका लागि सकारात्मक वार्ता भएको उल्लेख गर्नुभएको हो । राष्ट्रपति ट्रम्पको ट्वीटमा, चीनका राष्ट्रपति सीसँग विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सकारात्मक वार्ता भएको उल्लेख छ ।  


प्रतिक्रिया