सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण

चैत्र १५, २०७६ | अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । संक्रमणमा परेका सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । 

सिड्नीको ग्रान्भिलमा एउटै कोठा सेयर गरेर बसिरहेका ४ जनामध्ये एकलाई केहीदिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर, जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजामा पोजेटिभ देखिएको थियो । 

आफ्नो साथीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन अष्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए । त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्य समेत सामान्य रहेको दूतावासले जनाएको छ । 

यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाई छ । दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले भन्नुभयो, “हामीले घटनाको बारेमा थाहा पाएपछि एनआरएन, कन्सुलेटको सहकार्यमा आवश्यक सहयोग पुर्‍याउने प्रयास गरिरहेका छौ ।"

उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको र अस्पतालबाट नियमित मनिटर भईरहेको पनि उहाँले जानकारी दिनुभयो । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले यसपहिले सिड्नीकै अर्को एक विद्यार्थीमा संक्रमण पुष्टि भएको भएपनि उनी अहिले स्वस्थ भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमण भएका विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य छ तर, अहिलेको अवस्थामा हामी सबैले यस भाइरसबाट बच्नका लागि एकदमै सजग हुन आवश्यक भइसकेको छ ।"

अष्ट्रेलियाकै तास्मानियामा यसपहिले एक विद्यार्थीमा कोरोना संक्रमण पाइएको भएपनि उनी स्वस्थ भएर घर फर्किसकेका छन् । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन लगायतका संस्थाका साथै दूतावासले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आगामी गरेको छ । 

उनीहरुले सरकारी नियमको पालना गर्न र आवस्यकता बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन् । अष्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमीत पाईएका छन् जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन् । यस भाइरसबाट अहिलेसम्म अष्ट्रेलियामा १४ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया